स्थानीय चुनाव गरौं, ओली पनि तयार छन्ः देउवा
काठमाडौं २७ मंसिर । नेपाली कांग्रेसले पुरानै संरचनाअनुसार स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ । चुनाव छिटो गर्नुपर्छ भन्नेमा एमाले पनि सहमत रहेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले पुरानै संरचना अनुसार स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘अहिलेकै गाविस, नगरपालिकाकै भएपनि चुनाव गराउनुपर्छ ।
एमाले अध्यक्ष केपी ओलीसँग आइतबार भएको भेटमा चुनावबारे छलफल भएको भन्दै कांग्रेस सभापति देउवाले भने, उहाँ (ओली) यसमा तयार हुनु भएको छ । राष्ट्रिय सहमति हुनसक्छ । त्यसैले अहिलेकै संरचना चुनाव गर्नुपर्छ । मधेसी जनता कसैभन्दा कम राष्ट्रवादी नभएको भन्दै उनले मधेसी र पहाडीबीचमा झगडा नगराउनुस् भनेर ओलीलाई भनेको सुनाए । साथै उनले संविधान संशोधन विधेयक पास गराउन एमालेले समेत सहयोग गर्ने विश्वास व्यक्त गरे ।