पुष्पा बस्नेत सिएनएन सुपर हिरो
नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जित्नु भएको छ । यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै पुष्पाले सुपर हिरो अवार्ड जित्नुभएको हो ।अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको हो । आज बिहान एक विशेष कार्यक्रमकाबिच सिएनएनले बस्नेतलाई सुपर हिरो घोषित गरेको हो । सिएनएन सुपर हिरोका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका थिए ।
कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो ।सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका थिए ।