संसद बैठक आज पनि अवरुद्ध
काठमाडौं, २४ मंसिर । व्यवस्थापिका संसदको आज बसेको वैठक पनि विपक्षी दलहरुको अवरोधका कारण स्थगित भएको छ । संविधान संशोधन प्रस्तावको विरोध गर्दै मुख्य विपक्षी एमाले सहित माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी , परिवार दल , नेपा पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीका सांसदहरुको अवरोधका कारण वैठक स्थगित भएको हो ।
सभामुख ओनसरी घर्तीले दलहरुबिच सहमति नभएसम्म संविधान संशोधनको विधेयक छलफलका लागि कार्यसूचीमा नराख्ने बताए पनि एमाले लगायत विपक्षी दलले प्रस्ताव नै संसदबाट फिर्ता लिनुपर्ने माग गरेर संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
सरकारले मंसिर १४ गते पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरसहित चार विषयमा संशोधन प्रस्ताव ल्याएपछि विपक्षी एमाले सहितका दलले त्यसको विरोध गरेका छन् । संसद बैठक लगातार अवरुद्ध हुँदै आएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव अघि बढ्न सकेको छैन ।
सभामुख ओनसरी घर्ती मगरले आगामी मंसिर ३० गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेको जानकारी दिइन् । संविधान संशोधन प्रस्ताव दर्ता भएपछि वैठक स्थगित भएको यो पाँचौ पटक हो।