संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी : नेम्वाङ
काठमाडौं, २४ मंसिर । नेकपा एमालेका नेता एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधनका लागि सरकारले संसदमा पेश गरेको विधेयक फिर्ता नलिएसम्म सदन र सडक संघर्ष नरोकिने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधन गर्नुको कुनै औचित्य नहुने बताए ।
संविधान कार्यान्वयनका लागि निर्वाचन गराउन भन्दा संशोधन गर्न तिर सरकार लागेकाले बाध्य भएर आफूहरु सडक र सदनको संघर्षमा जानु परेको नेम्वाङको भनाई छ ।
नेम्वाङले ९० प्रतिशत जनप्रतिनिधिको सहमतिमा निर्माण भएको संविधान कसैले भन्दैमा परिवर्तन गर्न नसकिने स्पष्ट पारे ।
उनले भारतको संविधान ६५ प्रतिशत संसद् र अमेरिकाको संविधान ५२ प्रतिशतले पारित भएको उदाहरण दिदैं ९० प्रतिशत सभासद्ले पारित गरेकाले नेपालको संविधान कार्यान्वयनको विकल्प नभएको बताए ।