भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज
भक्तपुर, २४ मंसिर । आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको डिसेम्बर ९ मा भ्रष्टाचारलाई विश्वको मुख्य साझा समस्या मान्दै विश्वभर यो दिवस मनाउन थालिएको हो । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
भ्रष्टाचारले विश्वमा महामारीको रुप लिएपछि त्यस विरुद्ध लड्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । विकासोन्मूख देशमा बढी भ्रष्टाचार हुने गरेको तथ्याङले देखाएको छ ।
सन् २०१५ मा १ सय ६८ देशहरुको सर्वेक्षण हुँदा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल एक सय ३०औं नम्बरमा परेको थियो । कुल एक सय नम्बरका लागि भएको विभिन्न अध्ययनका क्रममा नेपालले सुशासनको पक्षमा २७ नम्बर मात्र पाएको थियो भने बाँकी विषय भ्रष्टाचारसम्बन्धी रहेको अध्ययनले देखाएको थियो ।
दिवसका अवसरमा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले विविध कार्यक्रमको आयोजना समेत गरेका छन् ।