यमनमा भोकमरी निम्तने सहायताकर्मीहरुको चेतावनी

भक्तपुर न्यूज

२२ मंसिर २०७३ १०:१२

यमनमा भोकमरी निम्तने सहायताकर्मीहरुको चेतावनी

एजेन्सी, २२ मंसिर । यमनमा हिंसाको कारण बढ्दै गएको संकटप्रति अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गरिरहेको आरोप लगाउँदै सहायताकर्मीहरुले अबको केही महिनामा त्यहाँ व्यापक भोकमरी निम्तने चेतावनी दिएका छन् ।
यमनमा रहेका संयुक्त राष्ट्रसंघका उच्च अधिकारीले त्यहाँ मानवीय संकट देखा पर्दा विश्वले आँखा चिम्लिएको आरोप लगाएका हुन् । संयुक्त राष्ट्रसंघका यमनस्थित सहायता संयोजक जेमी मक्गोडरिकले बीबीसीसँग बोल्दै बालबालिकाले भोकमरीका कारण ज्यान गुमाउन थालिसकेको बताए ।
मक्गोडरिकले यमनमा करिब दुई वर्षयता भएको द्वन्द्वमा देशका थुप्रै भौतिक संरचनाहरु ध्वस्त भएको र देशको आधा भन्दा बढी जनसंख्याले बाँच्नका लागि आधारभूत सामाग्री गुमाएको बताए । यस्तो अवस्थामा रहेको यमनलाई सहायता नगरेकोमा विश्वले पछुताउनुपर्ने चेतावनी पनि उनले दिएका छन् । बीबीसीसँग बोल्दै उनले भने, यो संकट यस्तो हो जुन हामीले पहिचान गरेनौं र यसले हामीलाई नै सताउन आइपुगेको छ । किनभने हाम्रो असमनताको परिणामको मूल्य हामीले नै चुकाउनुपर्नेछ ।
अक्सफामले भनेको छ, करिब दुई वर्षदेखिको द्वन्द्वले यमन बिस्तारै भोकमरीमा फसिरहेको छ । उसले यमनमा खाद्य सामग्रीको आयातलाई सिमित बनाउने प्रतिबन्धहरु हटाउन हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनलाई आह्वान गरेको छ ।
साउदी अरेबियाको समर्थन पाएको यमन सरकारविरुद्ध पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेह सँग निकट रहेका फौज र हुथी लडाकुहरु लडिरहेका छन् । त्यहाँ सन् २०१५ को मार्च महिनाबाट शुरु भएको द्वन्द्वका कारण १ करोड ८० लाख मानिसहरु मानवीय सहायताको खाँचोमा रहेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म ७ हजार दुई सय ७० भन्दा बढी सर्वसाधारणहरु यमनको द्वन्द्वमा ज्यान गुमाएका छन् भने करिब ४० हजार मानिसहरु घाइते भएका छन् । अन्तर्राष्ट्रिय सहायता संस्थाहरुले यसअघि पनि यमनमा भोकमरी देखापर्नसक्ने प्रति सचेत गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *