मंहगो विमान नचढ्ने डोनाल्ड ट्रम्पको घोषणा
एजेन्सी, २२ मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रपतिका लागि किन्न लागेको नयाँ विमान रद्द गर्न माग गरेका छन् ।राष्ट्रपतिका लागि किन्न लागिएको दुई नयाँ विमान धेरै महँगो रहेकाले नकिन्न उनले आग्रह गरेका हुन् । चार अर्ब अमेरिकी डलरमा किन्न लागिएको उक्त एअर फार्स वन विमान जरुरी नरहेको जिकीर उनले गरे ।अमेरिकी सरकारले भने नयाँ राष्ट्रपति चढ्ने भनेरै दुई वटा नयाँ एअर फोर्स विमान बनाउन बोइङ कम्पनीलाई आदेश दिइसकेको छ । यो सन् २०२४ तिर प्रयोगमा आउने बताइएको छ । अमेरिकी एअर फोर्सले भने विमान चाँडो दिन आग्रह गरेको छ ।ट्रम्पले ट्वीट गर्दै आफ्नो धारणा सार्वजनिक गरेपछि उता बोइङको शेयरमा एक प्रतिशतले गिरावट आएको छ । राष्ट्रपतिका रुपमा बोइङसँगको उक्त सम्झौता रद्द गर्ने अधिकार ट्रम्पसँग रहेपनि त्यवापत ठूलो रकम गुमाउनुपर्ने पनि जनाइएको छ ।