संशोधन प्रस्ताव फिर्ताको माग गर्दै बालुवाटारमा प्रदर्शन
काठमाडौं, २२ मंसिर । संयुक्त युवा विद्यार्थीले संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई संशोधन फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ, राष्ट्रघाती षड्यन्त्रको भण्डाफोर गरौँ भन्ने नारा लगाउँदै प्रदर्शन गरेका छन् ।
प्रदर्शनपछि आयोजित कोणसभामा युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायतले सम्बोधन गर्दै संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गरेका थिए । प्रदर्शनमा विपक्षी दलका भ्रातृ सङ्गठन, युवा सङ्घ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठन, प्रगतिशील युवा सङ्घ, अखिल नेपाल युवक सङ्घ तथा अखिल छैटौँको सहभागिता रहेको थियो । सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।