फेसबुकमार्फत साथी बनाउँदा अपराध बढे

भक्तपुर न्यूज

२२ मंसिर २०७३ ६:४४

फेसबुकमार्फत साथी बनाउँदा अपराध बढे

२२ मंसिर, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको प्रतिष्ठालाई सिध्याउन अर्कोको नाममा नक्कली आइडी चलाउने गरेको जानकारी दिए । उनले भने, २० देखि ३० वर्ष उमेरका मानिस बढी साइबर अपराधमा सक्रिय भएका छन् । महाशाखामा दैनिक साइबर अपराधका पाँचदेखि सातवटा घटना दर्ता हुने गरेको छ । महाशाखामा दर्ता भएका घटनामध्ये ९० प्रतिशत फेसबुकबाट हुने रहेको महाशाखाले जनाएको छ । महाशाखामा आर्थिक वर्ष २०७२\७३ मा आठसय ३० र आव ०७३\७४ मा चारसय ६६ अपराध दर्ता भएका छन् ।

तीमध्ये आव २०७२\७३ मा १७ र आव २०७३\७४ मा १५ मुद्दा दर्ता अदालतमा गएको र बाँकीलाई ब्लक गर्न या नयाँ आइडी बनाएर फेसबुकको प्रयोग गर्न लगाएको रायले बताए । अपराधमा विद्यार्थी तथा गृहिणीदेखि जागिरेसम्म रहेको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले नचिनेका व्यक्तिलाई फेसबुकमार्फत साथी बनाउँदा साइबर अपराधका घटना बढेको बताउछन् । उनी भन्छन्र , जथाभावी सामाजिक सञ्जालमा लेख्ने वा अर्कोको नाममा आइडी बनाउने व्यक्तिलाई कडा कानुन बनाई कारबाही गरे मात्र यस्ता घटना घट्छ । खनालले सामाजिक सञ्जालको प्रयोगका लागि नेपालमा आफ्नै साइट बनाउनु जरुरी रहेको बताए । उनले साइबर अपराधका घटना कम गर्न छुट्टै निकाय आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *