भक्तपुरका महिला प्रहरीलाई डियुटीका समय शौचको डर
भक्तपुर, २१ म्ंसिर । भक्तपुर जिल्लामा प्रहरी प्रमुख महिला रहेको यो नयाँ अवस्था भने होइन तर पनि डियुटीका समयम शौच लाग्ला भन्ने त्रासमा रहेका ट्राफिक महिला प्रहरी र महिला प्रहरीको समस्या सम्बोधन तर्फ हाल सम्म कसैको पनि ध्यान जान सकेको देखिँदैन ।
नेपालकै नमूना सडकका रूपमा परिचित छ लेन सडकको सुरक्षामा खटिने महिला प्रहरीलाई डियुटीको समयमा शौचको समस्याले हरेक दिन झेलेको छ । सडक सुरक्षाका साथै ट्राफिक ब्यवस्थापनमा खटिने महिला प्रहरीलाई शौच लागे अब कसको होटल, घर वा अफिसमा जाने भन्ने समस्या आई लाग्छ ।
भक्तपुर जिल्लामा मात्र प्रहरी र ट्राफिक प्रहरीमा कार्यरत महिलाको संख्या ७७ रहेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । उनले आफू आएको झण्डै दुई महिना बिति सक्दा पनि महिला प्रहरीबाट त्यस्तो गुनासो नआएको बताए ।
छ लेन सडक खण्डमा महिला प्रहरीका लागि शौचालयको ब्यवस्था गर्न नसक्दा समस्या देखिएको प्रहरी परिसरमा काम गरिरहेका महिला प्रहरीहरु नाम उल्लेख नगरिदिने शर्तमा भन्छन् । ठूला हाकिमहरु जहाँ जाँदा पनि शौचालयको सुबिधा भएको स्थानमा पुग्छन् जसकारण पनि उनीहरुको यता तर्फ ध्यान जान नसकेको होला एक महिला प्रहरीले गुनासो पोख्दै भन्छिन् हामी जस्ता निम्न दर्जाकालाई पो यो समस्याले झेलेको छ ।
दिर्घकालिन समस्याको रुपमा देखिएको शौचालयको ब्यवस्थापन गर्न नसके पनि घुम्ती शौचालयको ब्यवस्था गर्न सके सुरक्षामा खटिएका महिला प्रहरीका लागि मात्र नभएर अन्यले समेत सुबिधा पाउने उनीहरु बताउँछन् ।
सूर्यविनायक चोकमा भेटिएकी महिला ट्राफिक हवलदार निर्जना लामिछानेले शौचालयको व्यवस्था नहुँदा दिनप्रतिदिन समस्या झेल्नु परेको गुनासो पोख्छिन् । डियुटिका समयमा शौच गर्न विभिन्न घरमा गई शौचालयको साँचो माग्न जानुपर्ने बाध्यता छ । उनी भन्छिन्, कतिपय घरमा त साँचो समेत दिँदैनन् भने कसैकसैले मात्रै शौचालयको साँचो दिन्छन् । विषेशत सरकारी कार्यालय र बैंक वा सहकारीको शौचालय पायक अनुसार प्रयोग गर्र्दै आएको उनी बताउँछिन् । उनले छ लेन सडक खण्डमा काम गर्दाको अनुभव सुनाउँदै भन्छिन्, शौच लाग्दा शौचालय खोज्दै हैरान हुनुपर्छ । एकातिर शौचालयको खोजीको तनाव अर्काेतर्फ शौचालय जाँदा केहि घटना भएमा हाकिमहरूलाई दिनुपर्ने जानकारीले गर्दा तनाव हुन्छ ।
पाण्डो बजार चोक नजिकै रहेको प्रहरी बिटमा भेटिएकी एक महिला प्रहरीको गुनासो पनि लामिछानेकै जस्तो छ । उनी भन्छिन्, सडक खण्डमा डियुटी गर्दा कतिपय महिला प्रहरीले पानी समेत नपिउने गरेका छन् । पानी पिउँदा छिट्टै शौच लाग्ने त्रास कै कारण पानी समेत नपिएर डियुटी गर्नु परेको उनको गुनासो छ । शौच लागी हाले कता जाने भनेर पहिले नै सोच्नुपर्छ । उनका अनुसार सडक क्षेत्रका आसपासमा घुम्ती शौचालय अथवा प्रहरी बिट राखिएका स्थान नजिकै शौचालयको व्यवस्थापन गर्न सकिए त्यसबाट महिला सुरक्षाकर्मीले मात्र नभएर आममानिसले लाभ लिन सक्छन् । यसरी शौचालयका लागि सधैं अरूको घर जानु पर्ने अप्ठ्यारोको अन्त्यतर्फ सरोकारवालहरूको ध्यान गईदिए राम्रै हुने बताउँछन् महिला सुरक्षाकर्मीहरू ।
यसरी महिला प्रहरीलाई सुम्पेको जिम्मेवारीसँगै उनीहरूको कार्यसम्पादन पनि प्रभावकारी रहेको जानकारी दिन्छ महानगरिय प्रहरी परिसर भक्तपुर । थुप्रै खालका समस्या झेल्दै आएका महिला प्रहरीले स्नानका लागि समेत स्थानको अभाव भएको गुनासो पोख्दै आएतापनि समस्या समाधानतर्फ सरोकारवालाहरू अग्रसर नदेखिएको गुनासो पोख्छन् उनीहरु । भक्तपुरको यो सडक खण्डमा जसरी महिला प्रहरीको सक्रियताले धेरैलाई पाठ सिकाएको छ, त्यो अनुकरणीय रहेको र कार्य सम्पादनमा पुरूष सुरक्षाकर्मी भन्दा सबलै देखिएको स्थानियहरु बताउँछन् ।