इटलीका प्रधानमन्त्री रेन्त्सीद्वारा राजीनामा

भक्तपुर न्यूज

२० मंसिर २०७३ १०:५२

इटलीका प्रधानमन्त्री  रेन्त्सीद्वारा राजीनामा

एजेन्सी, २० मंसिर । इटलीका प्रधानमन्त्री माटेओ रेन्त्सीले पदबाट राजीनामा दिएका छन् । संवैधानिक सुधारबारे हिजो भएको जनमत संग्रहमा आफ्नो हार स्वीकार्दै उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । तल्लो सदनले पारित गरेको विधेयकलाई अस्वीकार गर्नसक्ने गरी सिनेटको अधिकार घटाउन उनले राखेको प्रस्ताव फराकिलो अन्तरले पराजित भएको थियो । रेन्त्सीले संवैधानिक सुधारबारे प्रस्ताव अघि बढाउँदै जोखिम मोले र अन्तत पराजित भए । उनको देशका मतदाताहरुले जनमत संग्रहमार्फत आफूहरुलाई संवैधानिक सुधार नचाहिएको भन्ने निर्णायक जवाफ दिए । उनकै पार्टीका कैयौं नेतासहित विपक्षीहरुले त्यस्तो प्रस्तावको विरोध गरेका थिए । यसअघि एउटा विज्ञप्तिमा रेन्त्सीले पराजयका लागि आफू दोषी रहेको स्वीकार्दै पदबाट राजीनामा दिने बताएका थिए ।
सुधारबारे उनको प्रस्तावले प्रधानमन्त्रीको कार्यालयलाई ज्यादा शक्तिशाली बनाउने तर्क विपक्षी पार्टीको थियो । त्यसले भविष्यमा उनीहरुलाई प्रजातन्त्रको ज्ञान नभएका व्यक्तिबाट अपहेलित हुनसक्ने सम्भावना देखाउँथ्यो । जनमत संग्रहको यो परिणाम इटलीका कैयौं विपक्षी पार्टीहरुका लागि ठूलो जित हो । यो जनमत संग्रहमा रेन्त्सीको प्रस्ताव जनमत संग्रहबाट पारित भए त्यसले उनलाई अत्यधिक अधिकार दिने भन्दै प्रचारमुखी विपक्षी पार्टी ‘फाइभ स्टार मुभमेन्ट’ले व्यापक अभियानहरु चलाएको थियो । उक्त पार्टीको अब तत्कालको उद्देश्य भनेको आउँदो आमचुनावमा जित्नु र युरोपेली संघसँगको इटलीको सम्बन्धबारे पुनर्विचार गर्न दवाव दिनु हो । तर अर्को चुनाव सन् २०१८ को फेब्रुअरीसम्म हुनेछैन । इटलीका राष्ट्रपतिले रेन्त्सीको ठाउँमा उनकै डेमोक्रेटिक पार्टीका नेता एवं अर्थमन्त्री पियर कार्लो पाडोआनलाई त्यतिबेलासम्मका लागि कामचालाउ सरकारको नेतृत्व गर्न जिम्मेवारी दिने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *