मध्यपुरका भूकम्पपीडितले पाएनन् सरकारी राहत
भक्तपुर, २० मंसिर । भुकम्प गएको बर्षौपछि सम्म पनि पिडितहरुले पाउनु पर्ने राहत पाउन नसक्दा यति बेला पिडामा छट्पटाउनुको बाहेक अन्य बिकल्प देखिएको छैन । मध्यपुर नगरपालिका वडा १ देखि १४ सम्मका परम्परादेखि बस्दै आएका तर जग्गाधनी पूर्जा नभएका स्ववासीहरुलाई सरकारले उपलब्ध गराउने ५० हजार रकमको राहत पाउन सकेका छैनन् । मल्लकालदेखिनै बसोवास गर्दै आएका १ देखि १४ वडासम्मका ऐतिहासिक पुराना बस्तीहरुको सर्भे नापी कार्य सम्पन्न नभएको तर नगर कार्यालयबाट खरिद बिक्रि र हक हस्तान्तरण भैरहको अवस्थालाई ध्यान नै नगरि भुकम्प पिडितहरुलाई सरकारले दिने अनुदान रकमबाट बञ्चित गरेको यस क्षेत्रका भुकम्प पिडितहरु गुनासो पोख्छन् ।
यसरी लामो समयसम्म पनि भूकम्प पिडितहरुको गुनासोे कतै सुनवाई नभएको भन्दै नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिका अध्यक्ष बिक्रम बैद्यको नेतृत्वमा परम्परादेखि बसोवास गर्दै आएका स्ववासी घर भूकम्पबाट क्षती भएका पिडितहरुलाई तत्काल अनुदान उपलब्ध गराउनु पर्ने माग सहित भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेललाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ ।