चोरीको त्रासमा भक्तपुरबासी
भक्तपुर, २० मंसिर । नेपालको सानो र शान्त जिल्ला भक्तपुरको सुरक्षा अवस्थालाई नियाल्दा सुरक्षाका हिसाबले सक्षम जिल्ला भन्ने गरेता पनि यो ब्यवहारमा भने लागू हुन सकेको देखिँदैन । पछिल्लो समय दिनहुँ हुने गरेको साना चोरीले भक्तपुरबासीमा त्रास छाएको छ ।
भक्तपुर लिबालीका नाती तुई तुई भन्छन्, साना चोरीको क्रम बढ्दै गएपछि काममा जाँदा घरको सुरक्षाले सताउने गर्दा काममा समेत प्रभाव परेको छ ।
आफू काममा गयो परिवारका अन्य सदस्य समेत काम र अध्ययनमा जाने हुँदा घरमा ताल्चा लगाएर जानु पर्छ अनि कसरी सुरक्षित महसुस गर्नु उनी गुनासो पोख्छन् । आफ्नै छिमेकीको घरमा लगाएको ताल्चा फोडेर चोरी हुने क्रम बढेपछि आफुले पनि असुरक्षित महसुस गर्नु परेको हो । उनी छिमेकीको घरमा चोरी घटना प्रतिनिधिमूलक उदाहरण मात्र हो, भक्तपुरमा यती बेला कसको घरमा चोर पस्छ र चोरी हुन्छ भन्ने त्रास स्थानियमा छाएको छ ।
भक्तपुर जगाती बृत्तका प्रमुख डिएसपी मित्र बन्धु थापा भन्छन् साना चोरी यती बेला प्रहरीका लागि टाउको दुखाई बनेको छ । साना चोरी हुँदा कि चोर्दा चोर्दै समाउन सक्नु प¥यो या चोरको पहिचान भएमा सहज हुने भएता पनि चोरको पहिचान र चोर्दा चोर्दै समाउन नसक्दा प्रहरीका लागि टाउको दुखाइ बनेको उनी बताउँछन् । पछिल्लो समयमा भक्तपुर जगाती बृत्तमा मात्र हप्ताको दुई तीन वटा चोरीको निबेदन पर्ने गरेको उनी जानकारी दिन्छन् ।
बिगतको तुलनामा चोरीको घटना बढ्दै जानु र चोरी पछि चोर समात्न नसक्नुले साना चोरी भएका खण्डमा कतिपयले प्रहरीलाई समेत जानकारी नदिने गरेको सूर्यबिनायक निवासी बिष्णु खर्बुजा बताउँछन् । उनी भन्छन्, प्रहरीलाई जानकारी गराएर के गर्नु भक्तपुरमा भएका साना चोरीमा प्रहरीले कति चोर समात्यो उनी उल्टो प्रति प्रश्न गर्छन्् ।
भक्तपुर प्रहरी परिसर पनि साना चोरीकै कारण प्रहरीले यती बेला सास्ती खेप्नु परेको जानकारी दिन्छ । भक्तपुर प्रहरी परिसरका मुद्दाका प्रहरी निरक्षक प्रकाश बिष्ट भन्छन्, तुलनात्मक रुपमा भक्तपुरमा साना चोरी बढेको छ र प्रहरी यसको न्यूनिकरण तर्फ अग्रसर बनेता पनि उपलब्धी हासिल गर्न सकेको छैन । उनी भन्छन, भक्तपुरमा साना चोरीमा लागु पदार्थ सेवनकर्ता, सडकमा फोहोर संकलन गर्ने भारतिय मूलका बच्चाहरु र उपत्यकाभित्र चोरी गर्ने मोबाईल समूहहरु रहेका छन् । यस्ता खालका चोरहरुलाई भक्तपुरको चोरीमा भेटिएको उनी बताउँछन् ।
प्रहरीले पछिल्ला वर्षहरूमा आपराधिक क्रियाकलापमा वृद्धि हुनुमा प्रहरीको निगरानी र सुरक्षा व्यवस्थामा रहेका कमजोरी र भक्तपुरमा बढेको जनसंख्या, अन्तर्राष्ट्रिय स्तरको ६ लेन सडक इत्यादिलाई मानेको छ । अपराध विभिन्न ध्येयका साथ हुने गरेको छ । कुन ठाउँमा कस्ता प्रकारका आपराधिक क्रियाकलाप हुने गर्दछ भन्ने कुरा प्रहरी स्वयमलाई थाहा भने नभएको होइन । तर थाहा भएर पनि त्यसको निराकरणका लागि भने प्रहरीले विभिन्न अवसरमा ल्याउने गरेको विशेष सुरक्षा अभियान बाहेक अरु कुनै प्रयास भएको देखिँदैन । यसले गर्दा आपराधिक क्रियाकलाप गर्नेहरूलाई थप सहयोग मिलिरेहेको त छैन ? सर्वसाधारण प्रश्न गर्छन् ।