मुलुकभर आज विवाह पञ्चमी मनाइदै
काठमाडौं, १९ मंसिर । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज मुलुकभर विवाह पञ्चमी महोत्सव मनाइँदैछ । त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह भएको मान्यताका आधारमा उत्सव मनाउने गरिएको हो ।
आज जनकपुरको जानकी मन्दिर परिसरमा विधिअनुसार राम र सीताको स्वयंवरपछि वैवाहिक कार्यक्रम हुने छ । राजा जनकले सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथका जेठा छोरा रामले ती टुक्रा पारेपछि मंसिर शुश्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । उत्समवमा मटकोरभन्दा अगाडि तिलकोत्सव, स्वंयवर र विवाह सम्पन्न गरिन्छ । श्रद्धालुहरु विहान सबेरै देखि पवित्र सरोवर नदीमा स्नान गरी पुजाअर्चना गर्ने गर्दछन् ।
विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट ठूलो सङ्ख्यामा साधुसन्तहरू जनकपुर आइपुगिसकेका छन् । विवाह महोत्सव हेर्न नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने क्रम जारी छ ।
विवाह महोत्सवलाइ मध्यनजर गर्दै स्थानीय प्रशासनले जनकपुरको सुरक्षा व्यवस्था मजबुत पार्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
यस अवसरमा आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।