नेपाल भारतसँग ९९ रनले पराजित
काठमाडौं, १७ मंसिर । महिला एसिया कप क्रिकेटमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ । नेपालले यो प्रतियोगितामा खेलेका सबै खेल हारेको छ ।
आज भएको अन्तिम खेलमा भारतले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा २१ रनमै अलआउट भयो । यो नेपालको सबैभन्दा कम स्कोर हो । यसअघि श्रीलंकाविरुद्ध २३ रनमा आउट भएको थियो । सन् २००७ मा एसीसी महिला क्रिकेटको फाइनलमा नेपालले २६ रन बनाएको थियो, जुन यो प्रतियोगिता अघिको न्यून स्कोर थियो ।
तर, भारतविरुद्धको खेलमा नेपालले अर्को खराब रेकर्ड बनायो । नेपालका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालले जोडेको २१ रनमा ७ अतिरिक्त छ । जबकी सबैभन्दा धेरै रन बनाउने सरिता मगरले ६ रन जोडिन् । ज्योति पाण्डे, करुणा भण्डारी र रुविना क्षेत्री २÷२ रनमा आउट भइन् भने सीता राना मगर र रोसनी बोहोराले १÷१ रन जोडिन् । नेरी थापा, निरा राजोपाध्याय, शोभा आले र संगीता राई शून्यमै आउट भइन् । सरस्वती कुमारी शून्यमै नटआउट रहिन् । भारतकी पुनम यादवले ३ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । शिखा पाण्डे र हर्मनप्रित कौरले छैटौ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरिन् । पाण्डे ३९ र कौर १४ रनमा अविजित रहिन् ।
नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने करुणा भण्डारी र सीता राना मगरले एक एक विकेट लिइन् ।