थाइल्याण्डमा युवराज महावचिरालङकन नयाँ राजा घोषित
एजेन्सी, १७ मंसिर । युवराज महावचिरालङकनलाई थाइल्याण्डको नयाँ राजा घोषित गरिएको छ । झण्डै डेढ महिना अघि आफ्ना पिता भूमिबोन अदून्यदेतको निधन पछि युवराज महावचिरालङकन नयाँ राजा घोषित गरिएका हुन ।
हिजो अबेर टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए । ६४ वर्षे युवराजले गत अक्टोबर १३ तारिखमा आफ्ना पिताको निधन लगत्तै राज्यारोहण गर्ने अनुमान गरिएको थियो ।
तर उनले उक्त जिम्मेवारी सम्हाल्नुपूर्व आफूले केही समय लिन चाहेको बताएकाले ढिला गरी जिम्मेबारी लिएका हुन । राजा भूमिबोन राजनीतिक उतारचढाव भइरहने थाइल्याण्डमा स्थायित्वको प्रतीकका रुपमा थिए । उनलाई देशभरि नै सम्मान गरिन्थ्यो र इश्वरकै अंशकै रुपमा मानिन्थ्यो ।
आफ्ना बाबुको जस्तै सम्मान कायम राखिराख्न युवराजलाई ठूलो चुनौती हुने आंकलन गरिएको छ । उनी आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय नभएको बताइन्छ ।