डा. के.सी. र सरकारी पक्षबीचको वार्ता आज पनि

भक्तपुर न्यूज

१७ मंसिर २०७३ ४:५१

डा. के.सी. र सरकारी पक्षबीचको वार्ता आज पनि

काठमाडौं, १७ मंसिर । चिकित्सा क्षेत्रका सुधारमा माग राखेर अनसन बसेका डाक्टर गोविन्द केसी र सरकारी पक्षबीच आज पनि वार्ता हुँदैछ । हिजो बेलुकी भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः बार्ता बस्न लागेको हो ।
त्रिविका उपकुलपति तीर्थराज खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केशवप्रसाद सिंहको राजीनामाका विषयमा सहमति हुन नसक्दा यसअघिका वार्ता निस्कर्षविहिन भएका छन् । नवनियुक्त डिन सिंहलाई हटाउनुपर्ने डाक्टर केसीको प्रमुख माग छ ।
शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाले हिजो डिन सिंहलाई राजीनामा गराउने प्रयास गरेका थिए । यसका लागि शिक्षा मन्त्रालयमा त्रिवि पदाधिकारीसहित हिजो राति ११ बजेसम्म छलफल गरे पनि कुनै निर्णय हुन सकेन । कानुनअनुसार बर्खास्त गर्न नमिल्ने देखेपछि डिन सिंहको राजीनामा गराएर डाक्टर केसीको जीवनरक्षा गर्ने प्रयास मन्त्रीहरूको भएपनि त्यो सफल हुन सकेन ।
केसी पक्षले सिंहको राजिनामा र रमेशकान्त अधिकारी संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले बनाएको मापदण्ड कार्यान्वयन गर्ने प्रतिबद्धता आए अनशन तोडन सकिने बताउदै आएको छ ।
विभिन्न नौवटा माग राखेर डाक्टर केसी बीस दिनदेखि आमरण अनशनमा छन । केसीले नवनियुक्त डिन प्रा.डा. के.पी. सिंहलाई हटाइनुपर्ने र वरिष्ठताका आधारमा प्राध्यापक डाक्टर जगदीश अग्रवाललाई नियुक्ति गरिनुपर्ने माग राखेका छन । उनले उपकुलपतिसमेतको बर्खास्त गर्न माग गरेका छन् । केसीको अनशनमा ऐक्यबद्धता जनाउँदै उनको जीवन रक्षाको मागसहित त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आकस्मिकबाहेकका सेवामा सहभागी भएका छैनन । विशेषज्ञ चिकित्सकले बिरामीको उपचार गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *