एसिया कप क्रिकेटमा नेपालको चौथो हार

भक्तपुर न्यूज

१६ मंसिर २०७३ ८:२३

एसिया कप क्रिकेटमा नेपालको चौथो हार

काठमाडौं, १६ मंसिर । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको चौथो खेलमा पनि नेपाल पराजित भएको छ । चौथो खेलमा नेपाल आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज बिहान सम्पन्न खेलमा घरेलु टोली थाइल्याण्डले नेपालबिरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको हो ।
नेपालले प्रस्तुत गरेको ६४ रनको लक्ष्य थाइल्याण्डले दुई विकेटको क्षतिमा भेट्टायो भने थाइल्याण्डका लागि नाट्टाकन चान्तमले २४ तथा सिरिन्ट्राले २७ रन बनाइन् । नेपालकी सरीता मगरले दुई विकेट लिइन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर ६३ रन बनायो । नेपालकी ज्योती पाण्डेले १६, सीता राना मगरले ९, रुबिना क्षेत्रीले ८ तथा नेरी थापाले ७ रन बनाइन् । प्रतियोगितामा थाइल्याण्डले पहिलो जित निकालेको हो ।
प्रतियोगितामा यसअघि खेलेका आफ्ना तीन वटै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपाल अब घर फर्किनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले, दोस्रो खेलमा श्रीलंकासँग ८ विकेटले हार्दा तेस्रो खेलमा बंगलादेशसँग ९२ रनको हार बेहोरेको थियो ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतसँग भोलि प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *