सरकार र मधेसी मोर्चाबीच बालुवाटारमा बैठक
काठमाडौं, १६ मंसिर । सरकारले दर्ता गराएको संबिधान संसोधन प्रस्तावमासहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा मोर्चाको संसोधन प्रस्तावमा रहेको असन्तुष्टिमा सहमतिको प्रयास भैरहेको छ । तराई केन्द्रित दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्ने भन्दै सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयक यथास्थितिमा स्वीकार गर्न नसकिने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेपछि प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन ।
सरकारद्वारा दर्ता गरिएको संविधान संशोधन प्रस्तावले मधेसी, जनाजाती, आदिवासीलगायत कसैको पनि माग सम्बोधन नगर्ने निष्कर्ष मोर्चाको छ । तराईमा भएका आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सरकारले मंगलबार अबेर दोस्रो पटक संविधानमा संशोधन विधेयक दर्ता गराएको थियो । विधेयकले संविधान निर्माणका क्रममा असन्तुष्ट रहेका दलहरु सन्तुष्ट हुने र निर्वाचन गराउने वातावरण निर्माण हुने अपेक्षा सरकारले गरेपनि मोर्चानै विपक्षमा उभिएको छ ।