विमान दुर्घटनामा निधन हुने खेलाडीको नाम सार्वजनिक
एजेन्सी, १६ मंसिर । फुटबल प्रतियोगितामा सहभागी हुन जानेक्रममा विमान दुर्घटनामा खेलाडीको मृत्यु भएका खेलाडीको सनाखत भएको छ । मंगलबार विमान एउटा डाँडोमा ठोकिदा विमानमा सवार ८१ यात्रु मध्ये ७६ जना मृत्यु भएको थियो भने ५ जनालाई जीवितै उद्धार गरिएको थियो । दक्षिण अमेरिकाको ठूलो मानिएको कोपा सुदामेरिकाना खेल्न बोलिभियाबाट खेलाडी लिएर उडेको विमान कोलम्बियाको मेडेलिन शहरको कोरो गार्डेन भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । जसमा १९ खेलाडीको मृत्यु भएको हो ।
निधन हुनेमा एट्लेटिको म्याड्रिडका ३५ वर्षीय पूर्व स्ट्राइकर क्लेमर सान्तना पनि छन् । उनको निधनलाई लिएर म्याड्रिड क्लबले मंगलबार नै एउटा वक्तव्य सार्वजनिक गर्दै दुःख व्यक्त गरेको छ ।
विमान दुर्घटनामा मृत्यु हुनेमा २७ वर्षीय स्ट्राइकर नानिस, २१ वर्षीय अलिटन कानेला, ३४ वर्षीय ब्रुनो रान्जेल छन् । रान्जेलले यो सिजन क्लबबाट सर्वा्िधक गोल गरेका थिए । अन्य स्ट्राइकरमा ३४ वर्षीय केम्पेस, २६ वर्षीय लुकास गोमेस,२२ वर्षीय तियागुइन्हो पनि छन् ।
यस्तै २४ वर्षीय मिडफिल्डर आर्थर माइया, २९ वर्षीय गिल, २१ वर्षीय माथेस बिटेको, २७ वर्षीय सर्गियो मानोयल, ३० वर्षीय जोसिमारको पनि विमान दुर्घटनामा निधन भएको छ । आर्थर माइयाको निधनप्रति चेल्सीबाट व्यवसायिक फुटबल खेलिरहेका ब्राजिलियन टिमका डिफेन्डर डेभिड लुइसले विशेष श्रद्धाञ्जली दिएका थिए । ३० वर्षीय डिफेन्डर विलियम थियागो, २५ वर्षीय डेनेर, ३२ वर्षका फिलिप माचाडो, २१ वर्षे गिमेनेज, २२ वर्षे माथेस कारामेलो र २५ वर्षे मार्सेलो अगुइस्टोको पनि निधन भएको थियो । ३१ वर्षे गोलकिपर डानिलो पाडिल्हालाई जीवित उद्धार गरिएपनि उनको अस्पतालमा निधन भयो ।
२२ सदस्यीय खेलाडी टोलीमा डिफेन्डर एलन रुस्चेल र हेलियो जाम्पेर तथा गोलकिपर जाक्सन फोलमनलाई सकुसल उद्धार गरिएको थियो । ५१ वर्षीय प्रशिक्षक लाइयो जुनियरको पनि दुर्घटनामा निधन भएको छ ।
उक्त घटनापछि ब्राजिल सरकारले तीन दिने राष्ट्रिय शोकको घोषण गरेका छन् । ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले दुर्घटनाको खबर पाए लगत्तै मंगलबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो कम्बोडियामा भएको विमान दुर्घटना फुटबल इतिहासकै दुखद घटना भएको बताए । दुर्घटनामा ब्राजिलको ए डिभिजन क्लब चापेकोइन्सका खेलाडी सवार थिए । चापेकोन्स सन् २०१४ मा पहिलो पटक ब्राजिलको ‘ए’ डिभिजनमा बढुवा भएको थियो । दुर्घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले कोपा सुडामेरिकन फुटबलको फाइनल खेल स्थगित गरेको छ ।