विमानमा तेल सकिँदा ब्राजिलका खेलाडीको ज्यान गएको खुलासा
एजेन्सी, १६ मंसिर । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमानमा इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको खुलेको हो ।
उक्त अडियोमा पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेको सुनिएको बताइएको छ । एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति मागेको सुनिएको छ । दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको पनि सोही टेपबाट खुलेको छ ।
पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो । टेपमा पाइलटले टोटल इलेक्ट्रिक फेलियर र इन्धन सकिएको चेतावनी दिएको सुनिन्छ । विमानमा इन्धन लिक भएर वा उड्ने बेलामै कम भएकाले इन्धन सकिएको भन्नेचाहिं खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।
६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियाको मेडेल्लिन शहर नजिक मंगलबार दुर्घटना भएको थियो ।
विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी, २१ जना पत्रकारसहितका यात्रु रहेका थिए । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् । मृत्यु हुनेमा १९ खेलाडी र २० जना पत्रकार छन्