काश्मिरमा बिद्रोहीसँगको भिडन्तमा सात भारतीय सैनिकको मृत्यु
एजेन्सी, १५ मंसिर । भारत प्रशासित क्षेत्र जम्मुको नगरोटामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको भिडन्तमा सात भारतीय सुरक्षाकर्मीको ज्यानगएको छ । बिद्रोहीले नगरोटामा रहेको सेनाको शिविरमा हिजो आक्रमण गरेपछि भिडन्त सुरु भएको थियो ।
भिडन्तको क्रममा भारतीय सेनाका दुई अधिकारी तथा पाँच जवानको ज्यान गएको हो । यस क्रममा तीन जना बिद्रोही पनि मारिएका छन् । बिद्रोही सेनाको शिविरमा प्रवेश गरेर १२ सैनिक, दुई महिला तथा दुई बालकलाई बन्धक बनाएका थिए । त्यसपछि भारतीय सेनाले जवाफी कारवाही गरेर बन्धक बनाएका सबैलाई सकुशल उद्धार गरेको थियो ।
सीमा सुरक्षा तथा बिद्रोही विरुद्धको कारवाही अभियानको योजना बनाउने जम्मुबाट १५ किलोमिटर पर रहेको सेनाको १६ कोर मुख्यालयमा आक्रमण भएको हो ।
यस्तै साँबा सेक्टरको अन्तर्रा्ष्ट्रिय सीमामा पनि बिद्रोही र भारतीय सीमा सुरक्षा बल बिएसएफ बिच गोली हानाहान भएको छ । अन्तर्राष्ट्रिय सीमामा भएको गोली हानाहानमा एक जवान घाइते भएका छन् ।
गएको सेप्टेम्बर भारत प्रशासित जम्मु काश्मिरको उडिमा रहेको भारतीय सेनाको एक शिविरमा आक्रमण आक्रमण भएपछि भारत र पाकिस्तानबिच तनाव भइरहेको छ ।