आवासीय चिकित्सकहरुले आजबाट आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बहिष्कार
काठमाडौं, १५ मंसिर । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधनका लागि भन्दै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले आजबाट आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका छन् । १८ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक डा. केसीको जीवन जोखिममा परे पनि सरकार गम्भीर नभएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले आन्दोलनको दायरा बढाएका हुन् ।
वरिष्ठताका आधारमा डिन नियुक्तिसँगै चिकित्सा शिक्षा र सेवा सम्बन्धी विभिन्न माग राख्दै अनसन बस्नु भएका डा केसीको जीवन रक्षाको लागि आजदेखि आकस्मिक बाहेक अन्य सेवा बहिष्कार गरिएको रेजिडेन्ट डक्टर्स एसोसिएसनले जनाएको छ । यसअघि शैक्षिक कार्यक्रम बहिस्कार गरी वार्ड र ओपिडिमा सेवा दिइरहेको चिकित्सकहरु अब इमर्जेन्सीमा मात्र संलग्न हुने भएका छन् ।
डा. केसीको माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्य स्वरुप आवासीय चिकित्सकहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आइरहेका छन् । यस अघि पनि उनीहरुले बहिरंग सेवामा काम गरेका थिएनन् ।
डा. केसीको माग सम्बोधनका लागि गठन भएको सरकारी वार्ता टोली र केसीका प्रतिनीधिबीच तीन दिनसम्म वार्ताको प्रयास भए तापनि वार्ता निष्कर्षमा पुग्न सकेको छैन । आज चौथो दिन पनि वार्ताको प्रयास भइरहेको बताइएको छ ।