मध्यदक्षिणपन्थी फियो राष्ट्रपतीय उम्मेदवार
एजेन्सी, १३ मंसिर । फ्रान्सको आगामी बर्षको राष्ट्रपतिको उम्मेदवारमा मध्यदक्षिणपन्थी फ्रास्वाँ फियोले उम्मेदवारीको घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका फियोले आगामी राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्दै फ्रान्समा व्यापक आर्थिक सुधारको वाचा गरेका छन् । पार्टी भित्र भएको चुनावमा उनले आफ्ना प्रतिद्वन्द्वी पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गरेका छन् । सबै मतहरु लगभग गणना भइसक्दा त्यसमध्ये फियोले ६७ प्रतिशत मत पाइसकेका छन् । उनका प्रतिद्वन्द्वी अर्का पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकारिसकेका छन् र फियोलाई राष्ट्रपति दौडमा सघाउने वाचा गरेका छन्।
फ्रास्वाँ फियो, मध्यदक्षिणपन्थी राष्ट्रपतीय उम्मेदवार फियोले आफूले थप निष्पक्ष समाज बनाउन चाहेको बताएका छन्। आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फियोले देशमा आमूल परिवर्तन ल्याउने वाचा पनि गरे। उनले भने, ‘यदि फ्रान्सेली जनताले ममाथि विश्वास राख्छन् भने त्यसलाई सम्मानपूर्वक पालना गर्नु मेरो दायित्व हो। म परिस्थितिको गम्भीरता र देशवासीको अपेक्षा बुझ्छु ।’
उनले आगामी एप्रिलमा हुने राष्ट्रपतीय चुनावमा कट्टरदक्षिणपन्थी उम्मेदवार मारि ल पेन र अर्का एक जना समाजवादी उम्मेदवारको सामना गर्नुपर्नेछ।
६२ वर्षे फियोले नाटकीय आर्थिक सुधारहरुको प्रस्ताव गरेका छन्। जसमा ५ लाख सरकारी जागिर कटौती गर्ने, निवृत्त हुने उमेर बढाउने र सम्पत्ति कर हटाउने लगायतका योजना छन्।