३० वटा नयाँ बस आजबाट काठमाडौं उपत्यकामा सञ्चालनमा
काठमाडौं, १२ मंसिर । साझा यातायातका सुविधा सम्पन्न ३० वटा नयाँ बस आजबाट काठमाडौं उपत्यकामा सञ्चालनमा आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक समारोहका बीच नयाँ बस संचालन कार्यक्रमको उद्घाटन गरेका छन् । थप ४ वटा रुटमा पनि आजदेखि नै ती बस संचालनमा आएका छन् । यो सहित साझाका ४६ वटा बस संचालनमा आएका छन् । उपत्यकामा ३९ र बाँकी बसहरु उपत्यका बाहिरका रुटमा संचालनमा आएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले १ सय वटा संचालनमा गर्न लागेको भन्दै बस संचालनको आवश्यक तयारी भइरहेको बताए । उनले उपत्यकाका तीन वटै जिल्लामा यातायात संचालन र त्यसको व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले एकीकृत योजना बनाउन लागेको जानकारी दिए । साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले उपत्यकामा अब ठूला बसहरु भित्र्याउनुपर्ने धारणा राखे ।
आधुनिक सुविधा सम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा बसमा छ । बसभित्र दुई वटा ह्विलचेयर अट्ने ठाउँ छ । नयाँ बसमा चारवटा सिसिटिभी छन, मनोरञ्जनका लागि एलइडी टिभी, मोवाइल चार्जरको व्यवस्था छ, भने अहिलेका बसमा २ क्रस ३ ‘साइड क्रोम’ सिट रहेकोमा नयाँ बसमा २ क्रस २ छन् । ४० वटा समाउने ‘स्ट्राप ह्याङ्गर’ रहेका छन् ।
बस सेवाको उद्घाटन पछि साझा बसमै चढेर प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरु आज सिंहदबार गएका छन् । साझा यातायात प्रालिले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न पुल्चोक पुगेका प्रधानमन्त्री दाहाल उद्घाटनपछि मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरबार गएका हुन् ।