पाकिस्तानी कलाकारको गोली हानी हत्या
एजेन्सी, १२ मंसिर । पाकिस्तानकी प्रसिद्ध थिएटर अभिनेत्री किस्मत बेगको गोली हानी हत्या गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार अज्ञात समुहले उनको पेट, हातलगायत शरीरका विभिन्न स्थानमा ११ गोली हानेर भागेका थिए । प्रहरीले उनलाई मन पराउने कुनै ब्यक्तिले हत्या गरेको अनुमान गरेको छ ।
घटना भएको रात किस्मत एउटा शोमा सहभागी भएर घर फर्किदै थिइन् । उनी कारमा थिइन् भने उनको कार ड्राइभरले चलाएका थिए । ड्राईभरलाई पनि केहि गोली लागेको थियो । उनी सामान्य घाइते भएका छन् ।
किस्मतमाथि प्रहार भए लगत्तै ड्राइभरले उनलाई अस्पताल पुर्याीएका थिए । तर, अस्पतालले धेरै रगत बगेको कारण निधन भएको जनाएको छ । ड्राइभरले दिएको बयान अनुसार गोली हानिसकेपछि गोली प्रहार गर्ने व्यक्तिले ‘किस्मत अब तैले कहिल्यै डान्स गर्न सक्दिनस्’ भनेका थिए ।
प्रहरीका अनुसार अज्ञात समुहले उनको पिछा गर्दै गोली हानेको जनाएको छ । प्रहरीका अनुसार किस्मतलाई यसअघि पनि दुई पटक आक्रमण प्रयास भएको थियो । किस्मत कुनै व्यापारीसँग प्रेममा रहेको अनुमान प्रहरीले गरेको छ ।