राष्ट्रिय माछा महोत्सव सुरु भयो
काठमाडौं, ९ मंसिर । तेस्रो राष्ट्रिय माछा महोत्सव काठमाडौँको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायिको माग पूरा गर्न नसकिने बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्ने मुख्य आधार मत्स्यपालन भएको बताए । महोत्सवमा माछासँग सम्बन्धित उपकरण, दाना, औषधि, सरकारी तथा गैरसरकारी संस्था एवम् अन्य कृषिउपजका गरी ४० वटा कक्ष रहेका छन् । उक्त अवसरमा कृषि राज्यमन्त्री तामाङले माछापालन सम्बन्धि तीनवटा स्मारिकाको समेत विमोचन गरकी थिइन् ।
‘माछा खाऔँ हो साथी नियमित खानामा माछा खाऔँ’ साङ्गीतिक कार्यक्रमका बीच आजदेखि माछा महोत्सव सुरु भएको हो । मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको उक्त महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र कमन, सिल्भर, विगहेड, र ग्रासकार्पलगायत विदेशी प्रजातिका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार खान पाइने छ । महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको छ ।