दुई महिलालाई महत्वपूर्ण पदमा मनोनयन
एजेन्सी, ९ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो भावी प्रशासनका दुई महत्वपूर्ण पदमा महिलाहरुलाई नियुक्त गर्ने निर्णय गरेका छन्। उनले साउथ क्यारोलाईनाकी गभर्नर निक्की हेलीलाई राष्ट्रसंघका लागि अमेरिकी राजदूत तथा बेट्सी डिभोसलाई शिक्षामन्त्रीका रुपमा मनोनित गरेका छन्।
भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन्। दुवै मनोनयलाई रिपब्लिकन पार्टि नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ।
निक्की हेली डोनल्ड ट्रम्पकी कटु आलोचक रहेकी थिइन् र उनलाई रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेदवार मनोनयनको दौडमा पराजित गर्न लागिपरेको अभियानको प्रमुख नेतामध्ये थिइन्। भारतीय आप्रवासी परिवारकी उनले मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको भनाइको खरो विरोध गरेकी थिइन्। तर ४४ वर्षीया उनले अन्तत अर्बपति व्यापारी ट्रम्पकै पक्षमा मतदान गरिन र अहिले उनले ट्रम्पको प्रस्ताव अनुसार मन्त्रिस्तरको राष्ट्रसंघका लागि अमेरिकी राजदूतको पद स्विकार्ने निर्णय गरेकी छन्। उनको विदेशमामिला सम्बन्धी दृष्टिकोणबारे बाहिर निक्कै कम जानकारी छ। तर न्युयोर्कका कयौँ वरिष्ठ कूटनीतिज्ञहरुले उक्त उच्च महत्वको पदमा ट्रम्पले राष्ट्रसंघको चर्को विरोध गर्ने खालको व्यक्तिलाई अघि नसारेकोमा सन्तुष्टी व्यक्त गरेका छन्।
न्युयोर्क स्थित बीबीसी संवाददाता निक ब्रायन्ट भन्छन् कयौँ कूटनितीज्ञहरुले उनको बारेमा गुगलमा खोजेर जानकारी लिइरहेका छन्। हेलीको मनोनयन अघि कतिपय कूटनीतिज्ञले ट्रम्पले राष्ट्रसंघको अमेरिकी राजदूतको पदको स्तर कटौती गर्ने आंशका गरेका थिए। निम्रता निक्की रान्धवा नाम सहित भारतीय शिख परिवारमा जन्मिएकी उनले अहिले आफूलाई इसाईका रुपमा चिनाउने गरेकी छन्। शिक्षामन्त्रीका रुपमा नियुक्त डिभोसले सम्मानीत महसुस गरेको बताएकी छन्। मिशिगनकी अर्बपति उनले रिपब्लिकन पार्टीलाई आर्थिक सहयोग उपलब्ध गराएकी थिइन्। एक समयमा उनले ट्रम्पले जथाभावी काममा बाधा पुर्याउने भन्दै उनले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताएकी थिइन्। प्रतिष्ठित पत्रिका फोर्ब्सले डिभोसका श्रीमानसँग पाँच अर्ब डलर भन्दा बढी सम्पत्ती रहेको आँकलन गरेको छ।
राष्ट्रपति उम्मेदवार मनोनयनका लागि पार्टीभित्रको प्रारम्भिक चुनाव अर्थात प्राइमेरीमा आफ्ना प्रतिष्पर्धी रहेका अफ्रिकी अमेरिकी पूर्व चिकित्सक बेन कार्सनलाई ट्रम्पले आवास तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने जस्तो देखिन्छ। तर ट्रम्पको संक्रमणकालीन व्यवस्थापनमा लागेको टोलीले कार्सनलाई उक्त पदका लागि प्रस्ताव नगरिएको बिबिसी नेपाली सेवाले जनाएको छ ।