६ लेन सडक सुविधा कि मृत्यु पास

भक्तपुर न्यूज

९ मंसिर २०७३ ९:५६

६ लेन सडक सुविधा कि मृत्यु पास

भक्तपुर, ९ मंसिर । काठमाडौंको तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म अन्तर्राष्ट्रियस्तरको सडक निर्माणले पूर्णता त पायो तर निर्माणमा देखिएका कमी कमजोरीकै कारण सडक उपभोक्ताका लागि उक्त मृत्युपास सरह झैं भएको छ । दुर्घटना र मृतकको संंख्या बढिरहेको छ । अहिले साना सवारी चालकका लागि अन्तर्राष्ट्रियस्तरको सडक निल्नु न ओकल्नु बनेको छ । निर्माण समयमा देखिएका सामान्य कमीकमजोरीतर्फ ध्यान दिन नसक्दा दुर्घटनामा ज्यान गुमाउने संख्यामा कमी आएको छैन । सडक बनाउँदा ध्यान जान नसकेका सामान्य कमीकमोजोरीतर्फ किन सम्बन्घित पक्षको ध्यान पुग्न सकिरहेको छैन यो आम जनचासोको विषय बनेको छ ? नेपालीमा एउटा उखान छ, लाटो देशमा गाँडो तन्नेरी, उक्त सडक यसै उखानसँग मेल खाएको छ ।
६ लेन सडक नाम दिएको उक्त सडक चार लेनमा विस्तार भयो यो केही नहुनुमा केही भएको मानिएता पनि विकासका कामले यदि जनताको अत्यधिक ज्यान लिने काम गर्छ भने किन त्यसतर्फ ध्यान नदिने भन्ने जनगुनासो रहेको छ । तर सुनिदिने कसले ? सबै तैं चुप मै चुप भएर कानमा तेल हालेर बसेका छन् । ६ लेन सडक नेपालको सडक इतिहासमा पहिलो नमुना मानिएता पनि हो यो सडक खण्डमा हुने गरेका दुर्घटना हेर्दा लाग्छ जनताका लागि विकास वा मृत्यु उपहार । हालसम्म भएका दुर्घटनाको दोषी को ? यो जनचासोको विषय बनेको छ । चालकको गल्ती भएका खण्डमा चालक दोषी रहने कानुन रहेको छ भने सडकको संरचनाको विकासमा गल्ती भए त्यसको दोष कसले लिने त ? सडक उपभोक्ताको जिज्ञासा छ ।
दुर्घटना बढ्नुमा अव्यवस्थित रुपमा बाटो काट्ने यात्रु वा आवश्यक ठाउँमा ट्राफिक संकेत चिन्ह नराखेका सम्बन्धित क्षेत्र कसले मूल्यांकन गर्ने ? कसलाई दोष थुपार्ने ? यी यस्ता प्रश्न हुन् जसको चित्त बुझ्दो उत्तर आज जनताले मागिरहेका छन् । कसको गल्तीका कारण अत्यधिक दुर्घटना हुने गरेको छ त्यसलाई. पत्ता लगाउने माध्यम वा विधि यो सडक बनोटमा छैन् । अन्तर्राष्ट्रियस्तरको सडक निर्माण ग¥यौं भनेर नाक फुलाउने नेपाल सरकारका इन्जिनियर वा सहयोग गरेर बाटो बनाइदियौं भनेर गुण लगाउने मित्रराष्ट्र कसैले पनि बनोटको अवस्थादेखि नै गल्ती स्वीकारेर सुधारमा तदारुकता देखाउनुको साटो चालक र पैदल यात्रुमा सडक चेतनामा कमी रहेको भन्दै दोषबाट पन्छिने परम्पराको अन्त्य कहिले हुने ? यो आम सरोकारको प्रश्न हो । निर्माणका क्रममा सामान्यभन्दा सामान्य कमीकमजोरीका अतिरिक्त सडक डिजाइन पास गर्ने र बनाउने नेपालका इन्जिनियरहरूलाई के कारबाहीको दायरामा ल्याउन पर्दैन जन आवाज आएको छ । पूर्व योजनाबिनानै यत्रो ठूलो सडकको निर्माण थालिएको हो त ? यसतर्फ पनि नेपाल सरकारको ध्यान जान सकेन किन ? हो नेपालको कानुन दैवले जानुन् भन्दैमा यो सडक खण्डमा हुने दुर्घटनाको जिम्मा के सडक निर्माण गर्ने प्राविधिक वर्गमा जाँदैन ? के उनीहरू छानबिनमा पर्दैन ? सामान्य ग्रामीण सडक बनाएको जस्तो डिजाइनमा उल्लेख भएन छ, छुटेछ जस्ता शब्दको प्रयोग अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्न मिल्ने कुरा हो त ? स्थानीय परिवेशको वस्तुस्थिति भन्दा विपरीत निर्माण गरिएको देखिन्छ यो सडक । यो सडकको डिजाइन नै दुर्घटनाको प्रमुख कारण भएको सडक उपभोक्ताको ठम्याइ छ । नेपाली समाजभित्र बढ्दो एक अर्कालाई दोष थुपार्ने प्रवृत्ति नै यस सडकमा दुर्घटना वृद्धिको कारण बनेको देखिन्छ । आखिर दोषी को त ?
किन त्रुटिपूर्ण छ त ६ लेनको सडक
प्रशस्त ट्राफिक संकेत चिन्हको व्यवस्था नहुनु । सडकको एक छेउबाट अर्को छेउसम्म पुग्न जेब्राक्रस अपर्याप्त । भएका जेब्रा क्रस प्रयोग गर्दा ज्यान गुमाउनुपर्ने अवस्था । स्थानीय बस्ती बाक्लो भएको थाहा हुँदैहुँदै निर्धारित क्रसहरूमा आकाशे पुलको व्यवस्था नहुनु । आकाशे पुल बनाउनु भन्दा पहिले भूमिगत क्रसिङ्गबारे नसोच्नु । गति नियन्त्रणसम्बन्धी ट्राफिक प्रहरीको कमजोरी । रातिका लागि पाँडे पजनी स्वरुप सडक बत्ती राखिनु । दुई पाँग्रे सवारीसाधनका लागि घोर अमैत्रीपूर्ण ।
सडकका सम्बन्धमा के भन्छन्, स्थानीय उपभोक्ता
लोकन्थलीका व्यवसायी दिपकराज कवें भन्छन्, सडक बनाएर राहत दिएता पनि त्यसको प्रभावकारी उपयोगतर्फ ध्यान भने दिन सकेन । आकाशे पूल हुने खाने र ठूला बडाको शक्तिका अगाडि आफ्नो र नातेदारहरूको भवनमा आवतजावत गर्न सहज मात्र हुनेछ । यहाँ जे पनि हुँदोरहेछ । ट्राफिक र जनपद प्रहरीले सक्रियता देखाओस् ।
थिमिका मोटरसाइकल चालक प्रज्वल कर्माचार्य भन्छन्, राम्रोलाई राम्रो भन्न चुक्नु हुँदैन तर असुरक्षित छ ६ लेनको सडक । यस्तै अर्का मोटरसाइकल चालक किरण माकजु भन्छन्, सडक दुर्घटनाको सवालमा चेतनाको अभिवृद्धि नभएको पनि होइन तर सडक निर्माणमा देखिएको सानो तर दुर्घटनाको प्रमुख कारण जेब्राक्रस नै रहेको छ । सानो सवारी चालक अमर देउजा थप्छन्, स्पिडमा आएको समयमा दौडिएर बाटो काट्ने गर्दा र सबै स्थानमा बत्ती र ट्राफिक संकेत नहुँदा दुर्घटना घट्नुको साटो बढेको छ । सडकमा राखिनुपर्ने संकेततर्फ ट्राफिक प्रहरीले अग्रसरता जनाएमा दुर्घटना घटने देखिन्छ । ट्राफिक प्रहरीको पहुँच वृद्धि भएमा सवारीचालकहरूको लापरबाहीमा समेत नियन्त्रण गर्न सकिने छ ।
सडक कत्तिको स्थानीयवासीका लागि मैत्रीपूर्ण छ त भन्ने सन्दर्भमा महानगरिय प्रहरी परिसर भक्तपुरका प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाई भन्छन्, सडकमा राखिएको संकेत चिन्हको अभाव रहको छ । त्यस्तै सवारीसाधन रोक्नका लागि जसरी व्यवस्थापन गरिएको छ त्यो झनै खतरापूर्ण रहेको छ । आवश्यक स्थानमा निर्माण गरिनुपर्ने आकाशे पुलकाबारे छलफल गरी निर्माण गरिएको भए अत्यधिक दुर्घटना हुने स्थान र अत्यधिक मानवचापले बाटो काट्ने स्थानलाई चयन गर्न सकिन्थ्यो । सडकमा कोरिएको लाइन , सवारीसाधन रोक्ने स्थान, आकाशे पुल र चाहिनेभन्दा बढी स्थलमा जेब्रा क्रस निर्माण हुँदा अत्यधिक दुर्घटना बढेको आफ्नो अनुभव रहेको बताउँछन् । उनी भन्छन्, सडक दुर्घटना घटाउनु पर्छ तर सडकमा कसको कारणले दुर्घटना भएको हो त्यसबारे तथ्य पत्तालगाउन गाह्रो रहेको छ यो सडकका मामिलामा ।
यस्तै डिभिजन सडक कार्यालयका अनुसार सडक निर्माण पूर्व आकाशे पुल भूमिगत जेब्रा क्रस र ट्राफिक संकेतबारे सोच लागू गरिदिएको भए दुर्घटना न्यूनीकरण गर्न सकिन्थ्यो होला । तर सडक दुर्घटना घटाउन सबै पक्ष सजग रहनु पर्छ भने सडकसम्बन्धी चेतना अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने जानकरी दिन्छ ।

सडक कानुन कानुनमै मात्र सीमित बनेको छ । त्यसलाई सरकारले कार्यान्वयन गर्न नसक्दा दुर्घटनाको सिकार सयौं यात्रुले भोग्नु परेको छ । यो सडक पीडालाई न त सडक कानुनले राहत दिन सकेको छ । न राहतको महसुस यो सडक भएर आवतजावत गर्ने नीतिनिर्माता वा सरकार वा सडक बनाइ दिने विज्ञहरूले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *