दुई आत्माघाती गोल
एजेन्सी, ९ मंसिर। इङ्लिस क्लब आर्सनललाई समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गर्नबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीले रोकेको छ । गएराति भएको खेलमा २–२ गोलको बराबरीमा सकिएपछि आर्सनल समूह विजेता बन्नबाट रोकिएको हो ।
दुवै टोलीले ५ खेलबाट समान ११ अंक जोडेपनि ‘हेड टु हेड’ को आधारमा पिएजी अगाडि छ ।
पिएजीका स्ट्राइकर इडिन्सन काभानीेले १८ मिनेटमा गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको अतिरिक्त समयमा एलक्सिस सान्चेजलाई ग्राजेगोर्ज क्रिचोविकले डिबक्स भित्र लडाए । आर्सनलका लागि पेनाल्टीबाट बराबरी गोल ओलिभर गिराउडले गरे ।
दोस्रो हाफको तनावपूर्ण खेलका बीच दुवै टोलीका डिफेन्डर मार्को भिराटी (पिएजी) र एलेक्स इओबी(आर्सनल) ले आफ्नै गोल पोस्टमा आत्मघाती गोल गरे । भिराटीको आत्मघाती गोलमा आर्सनलले ६० मिनेटमा २–१ को अग्रता बनाएको थियो । ७७ मिनेटमा इओबीले आफ्नै गोल पोस्टमा गोल गर्दै आर्सनलको सपना चकनाचुर पारे ।