राष्ट्रपति भण्डारीद्वारा वीरगन्जमा योग शिविर उद्घाटन
वीरगञ्ज, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गरेकी छिन् ।
उद्घाटनपछि बोल्दै राष्ट्रपति भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् ।
योगको महत्वलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घले पनि राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गर्दै राष्ट्रपति भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिमा आधारित यो विद्याले मानिसको जीवनलाई स्वस्थ बनाउने बताइन् ।
योग शिक्षाले जीवन स्वच्छ र शान्त बनाउने भएकाले यसको विकासमा जोड दिनुपर्दछ भन्दै राष्ट्रपति भण्डारीले योग शिविरले स्वस्थ र शान्त वीरगन्ज देओस् भन्ने कामना गरिन् ।
सो अवसरमा स्वामी रामदेव, आचार्य बालकृष्ण, भारतीय राजदूत रणजीत राय, रुसी राजदूत आन्द्रेई सेरगेयेभिच वुद्निक, गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको छ ।
पाँचहजारभन्दा बढी मानिसको सहभागिता रहेको शिविरमा स्वामी रामदेवले योगाभ्यास गराएका थिए ।