उल्टो दौडेर काठमाडौँदेखि दोलालघाटसम्म
काठमाडौं, ८ मंसिर । लामो दुरिका धाबक एवं विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सेकेण्डसम्म निरन्तर उल्टो दौडेर काठमाडौंको कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किमि दुरी पार गरेका छन् ।
अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को उल्टो हिँडेर नोबेम्बेर २२, २०१४ मा सफल आरोहण गरेको दिन पारेर उनले सो दौड गरेका हुन् । पण्डितलाई नेपालका चर्चित म्याराथन धाबक भुमिराज राइ, सुरेन्द्र बस्नेत, केन्याका धाबक पिटर मोंगे लगायत १० जनाको टोलीले सुल्टो हिँडेर साथ दिएको थियो । मंगलबार ७ बजेर २५ मिनेटमा पूर्व अर्थमन्त्री रामशरण महत, नेपाल प्रहरी ट्राफिक प्रमुख डिआइजी प्रकाश अर्याल, हिसानका अध्यक्ष रमेशकुमार सिलवाल, पूर्वसंसद बीरबहादुर सिंह लगायतले संयुक्त रुपमा उल्टो दौडको उद्घाटन गरेका थिए । पण्डितसहितको टोलि दोलालघाटमा मंगलबार बेलुका ८ बजेर १४ मिनेटमा पुग्न सफल भएको थियो ।
टोलीलाई दौड अबधिभर नेपाल पुलिस तथा ट्राफिक प्रहरीले साथ दिएको थियो । पण्डितले दौड पछि खुसी हुँदै भने, ‘मैले यो संसारलाई मान्छे उल्टो हिँड्नमात्र होइन उल्टो दौडन पनि सक्छ भन्ने कुराको प्रमाणित गरिदिएको छु ।’ उनले थपे, ‘अस्ट्रेलिया अनि अफ्रिकाको सर्वोच्च शिखरहरु उल्टो हिँडेर आरोहण गर्दै गर्दा मलाई लागेको थियो मान्छे उल्टो पैदल हिँडेर लामो दुरी दौडन सक्छ कि सक्दैन होला । मलाई विश्वास थिएन कि मैले यति लामो दुरी उल्टो दौडिएर पार गर्छु ।