साँस्कृतिक सम्पदामा व्यापारीकरण, जिम्मेवार निकाय मौन

भक्तपुर न्यूज

८ मंसिर २०७३ ९:१५

साँस्कृतिक सम्पदामा व्यापारीकरण, जिम्मेवार निकाय मौन

भक्तपुर, ८ मंसिर । लामो समयदेखि चर्चा परिचर्चामा रहेको तर कार्यान्वयनको अभाव झेलिरहेका सम्पदाको संरक्षणमा सरोकारवालाहरुको ध्यान जान सकेको देखिँदैन । एकातर्फ भूकम्पले कुरुप पारेका सम्पदाको निर्माणमा सरकारको उदासिनता अर्कोतर्फ सम्पदालाई ब्यापारिक लाभको केन्द्र बनाउँदा समस्यामा थप समस्या देखिएको बताउँछन् सरोकारवालाहरु । भक्तपुर जति मात्रामा कला र संस्कृतिमा धनी छ त्यत्तिकै यहाँका साँस्कृतिक धरोहरहरूमा विकृतिहरू श्रृंखलाबद्ध देखा पर्ने क्रम दैनिक बढ्दै गएको छ । यहाँका पाटी, पौवा, सत्तल र देवलहरु व्यवसायिक मदिरा पसल र व्यापारिक केन्द्रको रुपमा मौलाउँदै गएको देखिन्छ । यसले गर्दा भक्तपुरको साँस्कृतिक धरोहरको सिधै खिल्ली उडाएको बताउँछन् यस क्षेत्रका जानकारहरु ।
यसरी व्यापारिक केन्द्र बनेका साँस्कृतिक सम्पदामध्ये दरबार क्षेत्रको लामो पाटी, जंगम पाटी, दत्तात्रय स्थित क्याफे, टौमढीको क्याफे न्यातापोल लगायतका सत्तलहरू छन् । ऐतिहासिक सम्पदाहरु मदिरा र व्यापारको केन्द्रमा परिणत हुँदा समेत जिम्मेवार निकाय मौन छ । यसरी व्यापारिक केन्द्रको रुपमा साँस्कृतिक सम्पदालाई दुरुपयोग गर्दा साँस्कृतिक धरोहरहरूको खिल्ली उडाउने मात्र नभई पुरातात्विक मूल्य र मान्यतालाई नै चुनौती दिइएको बताउँछन् इतिहास र संस्कृतिविद्हरु ।
साँस्कृतिक सम्पदामा यसरी सिधै विकृतियुक्त क्रियाकलाप गर्नु स्मारक ऐन विपरीत भए पनि जिम्मेवार निकायले भने स्मारक ऐन २०१३ लाई सिधै चुनौति दिँदै साँस्कृतिक सम्पदामाथि नै धावा बोलेको स्थानिय राजनीतिक दल र स्थानियहरूको चर्को गुनासो रहेको छ । स्थानिय सुजीत श्रेष्ठले भने साँस्कृतिक सम्पदा अहिलेको पुस्ताले मात्र नभई सयौं वर्ष पछाडिका पुस्ताले पनि हेर्न पाउनुपर्छ तर भक्तपुरका साँस्कृतिक सम्पदामा भने सिमित व्यक्तिहरूको लापरवाही चलिरहेको छ । साँस्कृतिक सम्पदा सिमित व्यक्तिको मात्र होइन तर भक्तपुरमा भने सिमित व्यक्तिको पहँुचका कारण साँस्कृतिक सम्पदा दैनिक दुरुपयोग हुँदै गएको छ तर पनि सरोकारवालाहरु आम्दानीको श्रोतका रुपमा सांस्कृतिक सम्पदालाई प्रयोग गरिरको देखिन्छ ।
पुरातात्विक र साँस्कृतिक सम्पदामा मदिरा पसल राख्ने कहाँ उल्लेख गरेको छ सर्वसाधारणलाई सार्वजनिक गर्न चुनौती दिँदै श्रेष्ठले तत्काल साँस्कृतिक सम्पदामा भएका मदिराजन्य पदार्थको विक्री वितरण नहटे स्थानियले हटाउन लाग्ून पर्नेमा जो दिए ।
यस्तै गरी अर्का स्थानिय सुरज हाडा पुरातात्विक साँस्कृतिक सम्पदामा मदिरा बिक्री वितरण गर्ने कार्य अन्त्य नभए सर्वसाधारणले सडक आन्दोलन गरी साँस्कृतिक सम्पदा जोगाउन लाग्नु पर्ने बताए । साँस्कृतिक र पुरातात्विक सम्पदामा सिमित व्यक्तिहरूको मनपरी चल्न थालेको भन्दै उनले यसरी सम्पदाको दुरुपयोग गर्ने हो भने भक्तपुरबासीको प्रतिष्ठा गुम्दै जान समय नलाग्ने बताए ।
पुरातात्विक सम्पदामा व्यापारिक केन्द्र बन्दै गए पूर्खाले आर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने नारा लोप नहोला भन्न सकिन्न उनले गुनासो गरे ।
साँस्कृतिक सम्पदामा सिधै व्यापारीकरण गर्नु नियम विपरीत भएको स्थानिय राजनीतिक दलका नेताहरूले पनि बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले साँस्कृतिक र पुरातात्विक सम्पदामा व्यापारीक केन्द्र निर्माण गरी सिमित व्यक्तिहरूले फाईदा लिनु नियम संगत नभएको बताउँछन् । उनले भने अहिले स्थानिय निकायमा जनप्रतिनिधिहरू नहुँदा पनि स्थानिय साँस्कृतिक सम्पदामा व्यापारीक केन्द्र बन्ने क्रम बढ्दै गएको छ, यसको जिम्मेवारी सरोकारवालाहरूले लिनुको विकल्प छैन ।
यस विषयमा राजनीतिक दलहरूको भन्दा पनि सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुन्छ र सरोकारवालाहरू भने यस्ता विषयमा मौन रहनु गैर जिम्मेवारी पन भएको उनको भनाइ छ ।
नेकपा मालेका जिल्ला सचिव अदिप खड्का पनि साँस्कृतिक सम्पदामा यसरी व्यापारीकरण गरी मदिरा जन्य पदार्थको बिक्रीवितरण गर्नु कुनै दृष्टिकोणले उपयुक्त नभएको बताउँछन् ।
साँस्कृतिक सम्पदा कुनै संघसंस्थाको नहुने र यो विश्वको नै सम्पत्ति भएको भन्दै उनले यस्ता विश्व सम्पदामा कसैले पनि धावा बोल्न नहुने बताए । साँस्कृतिक सम्पदामा विकृतिजन्य क्रियाकलाप गर्नु नाजायज भएको भन्दै उनले यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने बताए ।
भक्तपुरका कतिपय साँस्कृतिक सम्पदा व्यापारिक केन्द्रको रुपमा परिणत गरी मदिराजन्य बिक्री वितरण गर्नु नियम विपरीत भएको सम्बन्धित निकायका व्यक्तिहरूले पनि स्वीकार गरेका छन् । भक्तपुर नगरपालिका एक अधिकृत भन्छन् , पुरातात्विक र ऐतिहासिक महत्व बोकेको साँस्कृतिक सम्पदामा यसरी लापरवाही गर्नु नियम विपरीत हो । यसको जिम्मेवारी आफूले कति लिनु पर्छ त्यो लिन नगरपालिका तयार रहेको छ । साँस्कृतिक सम्पदामा व्यापारिक केन्द्र निर्माण गर्नु मदिराजन्य विक्रीवितरण गर्नु नियम विपरीत भएको स्वीकार गर्दै उनले तत्काल नगरपालिकाको ध्यान यतातर्फ जाने र यस विषयको छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।
पुरातत्व विभाग अन्तर्गत भक्तपुर दरबार हेरचार अड्डाका प्रमुख मंगला प्रधान पनि साँस्कृतिक र पुरातात्विक सम्पदामा मदिराजन्य पदार्थ बिक्री वितरण हुने भएको स्वीकार गर्दै यसलाई आफूले रोक्ने पहल र प्रयास गरे पनि नियन्त्रण गर्न नसकिएको बताए । उनले भक्तपुरका बिभिन्न यस्ता सम्पदाहरु आफ्नो कार्यालयको मातहतमा नरहेता पनि साँस्कृतिक सम्पदामा व्यापारीक केन्द्र निर्माण गरेर सम्पदाको खिल्ली उडाउनु गलत भएको बताए ।
प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल भन्छन् पुरातात्विक सम्पदामा यसरी व्यापारीक केन्द्र निर्माण गर्नु नियम विपरीत हो तर पनि सके अनुरुप नियन्त्रण गर्न सकिएको छैन । कुनै पनि सरोकारवाला निकायबाट व्यापारीक केन्द्र निर्माण भन्ने खबर भने औपचारिक रुपमा पत्र नआएकाले समेत यस्ता क्षेत्रको अनुगमन भने गर्न सकिएको छैन ।
कतैबाट यसरी व्यापारिक केन्द्र निर्माण गरी मदिराजन्य क्रियाकलाप गरेको लिखित सूचना आए तत्काल दोषी माथि कारवाही गरिने छ भने साँस्कृतिक सम्पदाको पहिचान गुम्ने गरी मदिराजन्य पदार्थको व्यापारिक केन्द्र निर्माण बन्द गरिनु पर्नेमा उनी जोड दिन्छन् ।
सम्पदा कसैको पेवा नभएको र इतिहासको पानालाई भावी पिडिमाझ अध्ययनको प्रमुख पाटोको साथै विगत र वर्तमान समयमको ज्ञान दिने प्रमुख माध्यम भएकाले बेलैमा सम्पदाको संरक्षणमा सबैको ध्यान जानु पर्छ भने सम्पदा स्थलमा भएका यस्ता गलत कार्यलाई बन्द गरिनु पर्ने भक्तपुरका स्थानियहरुको आवाज रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *