मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

भक्तपुर न्यूज

८ मंसिर २०७३ ८:४६

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

भक्तपुर, ८ मङ्सिर । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रले गत मंसिर २ गते सङ्खुवासभा चैनपुर गाविसकी ५९ वर्षीया राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको वाइपास शल्यक्रिया सम्पन्न गरेको हो ।
केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा. मोहनदेव भण्डारी, डा. सम्पूर्णमान तुलाधर, डा. प्रेमराज वैद्य, मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा. सन्दिप भण्डारीलगायत  डा. इमेली फार्कसको नेतृत्वमा आएका विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो ।
केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख डा. मोहनदेव भण्डारीले मुटु उपचार सेवा सुरु गरेको एक महिना नबित्दै केन्द्रले मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको बताउनुभयो ।
मुटु सेवा सुरु गरेका अस्पतालमध्ये भक्तपुरमा पहिलो र नेपालका सरकारी अस्पतालमध्ये चाँैथो मुटुको शल्यक्रिया गर्ने अस्पतालका रुपमा केन्द्र स्थापित भएको बताउँदै उहाँले अब मुटुको भल्बदेखि मुटु तथा कलेजोको प्रत्यारोपण समेत गर्ने लक्ष्य लिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बिरामी श्रेष्ठले विगत सात वर्षदेखि मुटुको रोगले समस्या पारेको र पटकपटक गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा जाँदा हुन नसकेको शल्यक्रिया यहाँ आएकी श्रेष्ठले बताउनुभयो ।
केन्द्रमा हाल कार्डियोलोजीतर्फ इसिजी, इकोकाडियोग्राफी, हल्टर, टीएमटीको साथै नेपालमा दुर्लभ मानिने विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी मुटु शल्यचिकित्सातर्फ कोरोनरी वाइपास, मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्त नली फुलेको, जन्मजात मुटुको रोगलगायतको मुटु रोगका सेवा सञ्चालनमा ल्याइएको छ ।
केन्द्रले छिट्टै मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण तथा कलेजोको पनि प्रत्यारोपण तयारी गरिरहेको केन्द्रले जानकारी दिएको छ । यस केन्द्रमा बार्षिक १०० भन्दा बढीले मृगौला प्रत्यारोपण र हप्तामा करीव ४०० जनाले डाइलाइसिस तथा पेट र कलेजोको सम्पूर्ण उपचार सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *