एजेन्सी, ७ मंसिर – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेको पहिलो दिन ट्रान्स प्यासिफिक पार्टनरसीप व्यापार सम्झौता टिपीपीबाट फिर्ता हुने बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाको व्यापार नीतिको एक प्रमुख हिस्सा रहँदै आएको टिपीपी सम्झौताबाट ट्रम्प अलगिने भएका छन् । टिपीपी व्यापार सम्झौता विश्वको अर्थतन्त्रको ४० प्रतिशत हिस्सा ओगट्ने १२ देशले हस्ताक्षर गरेका थिए ।
एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले जनवरीमा ह्वाइट हाउस प्रवेश गरेपछि आफू पहिलो दिने टीपीपीबाट अलग्गिने घोषणा गरेका हुन् । यसअघि सोमबार जापानी प्रधानमन्त्री सिन्जो आवेले अमेरिका विना ट्रान्स प्यासिफिक पार्टनरशीप व्यापार सम्झौता अर्थहीन हुने बताएका थिए । यसैगरी ट्रम्पले व्यापारमा लागेको नियमन खुकुलो पर्ने, अमेरिकी उर्जा उत्पादनमा लगाइएका तगारा हटाउने, भीजा दुरुपयोग अनुसन्धान गर्ने, सरकारी सेवा छाडेकाहरुलाई पाँच वर्षसम्म कसैको पक्षमा काम गर्नबाट प्रतिबन्ध लगाउने, साइबर हमलासँग जुध्न योजना बनाउने लगायतका काम आफूले पहिलो दिन गर्ने घोषणा गरेका छन् ।