आज विश्व टेलिभिजन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं, ६ मंसिर । आज नोभेम्बर २१ अर्थात विश्व टेलिभिजन दिवश विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदैँ छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउँदै आएको हो । १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अविष्कार गरेका हुन् ।
तत्कालीन समयमा टेलिभिजन दिवस मनाउन पेश गरिएको प्रस्तावमा केही शक्ति राष्ट्रले भने नो भोटसमेत गरेका थिए । सन् १९३० को दशकमा प्रशारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमका रूपमा लिइन्छ ।
आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रूपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ ।
सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको हो भने सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको थियो ।
नेपालमा भने सन् १९७० को दशकमा टेलिभिजनका सेटहरू भित्रिएको पाइन्छ । नेपालमा टेलिभिजनको प्रशारण हुन थालेको ३२ वर्ष भएको छ । वि.सं. २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले दुई दर्जनभन्दा बढी टेलिभिजन च्यानल नियमित प्रशारणमा रहेको छ ।