राप्रपा र राप्रपमा नेपाल विच आज पार्टी एकीकरण हुदै
काठमाण्डौ, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ । एकीकरणको लामो प्रयासपछि दुवै पार्टीले आज राजधानीको प्रज्ञा प्रतिष्ठानमा दिउसो १ बजे हुने एक कार्यक्रमका विच एकता घोषणा गर्न लागेका हुन् ।
राजा सहितको हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरिसकेको राप्रपाबीच राजतन्त्र विषयमा आगामी महाधिवेशनबाट टुंगोमा पुग्ने सहमति जुटेपछि एकता सम्भव भएको हो ।
एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने र दुईजना अध्यक्ष हुने अन्तरिम विधान पारित भइसकेको छ । आज पार्टी एकीकरण घोषणा भएसँगै पशुपति शमसेर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनेछन् भने कमल थापा पार्टी अध्यक्ष बन्ने छन् ।
पार्टीमा दुई अध्यक्षसहित ५ जना शीर्ष नेताको नेतृत्व लियर हुनेछ । जसमा लोकेन्द्रवहादुर चन्द,विश्वबन्धु थापा र प्रकाशचन्द्र लोहनी हुनेछन् । राप्रपाको आलोपालो नेतृत्व प्रणाली अनुसार माघ ११ पछि राष्ट्रिय अध्यक्ष पद राणाले लोहनीलाई हस्तान्तरण गर्नुपर्नेछ ।
दुवै पार्टीका डेढ डेढ सय केन्द्रीय सदस्य समाहित भएर तीन सय सदस्यीय केन्द्रीय समिति बन्ने छ । दुवै पार्टीका हालका पदाधिकारी यथावत जिम्मेवारीमा रहने छन् ।
एकीकरणपछि राप्रपा संसदमा ३७ सिटका साथ चौथो ठूलो दल बन्ने छ
समान विचारधारा बोकेका राजनीतिक दलसँग सहकार्य र एकता गर्ने पार्टीको नीतिअनुरूप राप्रपा नेपाल र राप्रपा पार्टीबीच एकीकरण हुन लागेको भन्दै सो पार्टीले खुसी व्यक्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आज हुने राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता घोषणा सभालाई ऐतिहासिक र अविस्मरणीय बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनु भयो ।
एकिकरण पछि पार्टीको झन्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह भने महाधिवेशनले तय गर्ने छ । महाधिवेशन तीन महिनाभित्र हुने छ ।