भक्तपुरमा अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढ्दै

भक्तपुर न्यूज

५ मंसिर २०७३ ९:५०

भक्तपुरमा अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढ्दै

भक्तपुर, ५ मंसिर । भक्तपुरमा भूकम्पपीडितलाई दिन लागिएको पहिलो किस्तावापतको अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढ्दै गईरहेको छ ।
भक्तपुरमा गत कात्तिक २५ गतेदेखि सुरु भएको भूकम्पपीडित आवास पुनःनिर्माण अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो दिन प्रतिदिन बढ्दै गईरहेको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकाय मार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न सुरु गरेको एक साताका अवधिमा तीन हजार २ सय ९६ जनाले अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएका छन् ।
मध्यपुर थिमि नगरपालिका बाहेक पाँच नगरपालिकामा सोचेभन्दा बढी गुनासो आएको र गुनासो आउने क्रम दैनिक बढ्दै गएको भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले जनाएको छ ।
मध्यपुर थिमि नगरपालिका भने मङ्सिर ७ गतेदेखि मात्रै अनुदान सम्झौता सुरु गर्ने भएको छ भने नगरकोट नगरपालिकामा लाभग्राहिको सुचिमा नाम नपरेको भन्दै स्थानियले नै अवरोध गरेपछि एउटा वडा कार्यालयमा मात्रै अनुदान सम्झौता भएको छ । अन्य नगरपालिकामा हाल सम्म ६ हजार २४ जनाले अनुदान सम्झौता गरीसकेका छन् भने तीन हजार २ सय ९६ जानले गुनासो दर्ता गराएका छन् ।
भक्तपुरमा अधिकांश स्थानमा लालपुर्जा नभएका र लाभग्राहीको सूचीमा नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेहरु धेरै रहेको भूकम्पीय आवास पुनर्निमाण परियोजनाले जनाएको छ । लाभग्राहीको सूचीमा रहेको नाम, थर र नम्बर नमिलेको सन्दर्भमा स्थानीय निकायले आवश्यक प्रक्रिया पूरा गरेर अनुदान सम्झौता गर्न सक्ने व्यवस्था भएको बताइएको छ ।
भूकम्पपछि वास्तविक भूकम्पपीडितको पहिचान स्वरुप दिइएको रातो कार्ड पाएका, १५ हजार १० रु हजार अनुदानपाएका र पुनःसर्वेक्षणमा सेतो परिचयपत्र पाएकाहरुका नाम समेत लाभग्राहीको सूचीमा नभएको गुनासो आएको छ ।
अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान ५० हजार वितरण गरिने भनिए पनि सम्झौता भएकाहरुले अझै रकम पाउन सकेका छैनन् । समितिका उपसंयोजक पाठकले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट गरिने सबै प्रक्रिया पूरा गरेर सम्झौता भएकाहरुलाई आगामी सोमबारदेखि पहिलो किस्ताको ५० हजार प्रदान गरिने बताए ।
भक्तपुरमा ३३ हजार ६ सय ९६ जना भूकम्प पीडितहरु लगत संकलन गरेपनि पुनर्निमाण प्रधिकरणले २६ हजार १६ जनाको लाभग्राहीको सूची निकालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *