भक्तपुरमा ६ हजारको भूकम्प अनुदान सम्झौता
भक्तपुर, ५ मंसिर । भक्तपुरका भूकम्पपीडितलाई दिन लागिएको पहिलो किस्तावापतको अनुदान सम्झौता हिजोसम्ममा ६ हजारको सम्झौता गरिएको छ । महाविनाशकारी भूकम्प गएको करिब डेढ वर्ष पछि भूकम्पपीडितलाई भक्तपुरमा एक हप्ताअघिदेखि वितरण सुरु गरिएको हो ।
सार्वजनिक बिदाका दिन पनि सम्झौता चालू राखेको सरकारी कार्यालयले भक्तपुरमा करिब २५ हजार भूकम्पपीडितसँग अनुदान सम्झौता गर्नुपर्ने हुन्छ । स्थानीय विकास अधिकारी धुव्रप्रसाद कोइरालाका अनुसार केहि सातासम्म सार्वजनिक बिदाका दिन समेत सम्झौता चालू राखिने छ ।
उनका अनुसार एक साताको अवधिमा शनिबारसम्म भक्तपुरमा ६ हजार २४ जनाको सभ्झौता भएको छ भने नामावली छुटेको भन्दै ३ हजार २ सय ६६ जनाले गुनासो फाराम भरेका छन् । जिल्लाका केहि ठाउँका पीडीतले भने नामावली छुटेको भन्दै सच्चिएर नआएसम्म सम्झौता नगर्ने अडान लिएपछि सम्झौता कार्य नै रोकिएको छ ।
विशेष गरी नगरकोट नगरपालिकाका बासिन्दाले अनुदान सम्झौतामा अवरोध सृर्जना गरेपछि उनीहरुको सम्झौता कार्य रोकिएको हो । नगरपालिकाको १ देखि १० सम्मका संयुक्त वडा कार्यालयमा सभ्झौता रोकिएको छ । १३ ओटा वडा कार्यालय रहेको नगरकोट नगरपालिकामा ४ हजार ९ सय १९ जना भूकम्पपीडितको लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो ।
अधिकारी कोइरालाका अनुसार नगरकोट नगरपालिकामा ३ सय ९५ जनाको सम्झौता गरिएको छ भने ८ सय ७६ जनाले गुनासो फाराम भराएका छन । जिल्लामा रहेका ६ नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा २ हजार २ सय ४८ को सम्झौता भएको छ भने १ सय २५ जनाले गुनासो फाराम भराएका छन् । भक्तपुर नगरपालिकामा ६ हजार ८ सय ८८ भूकम्पपीडितको नामावली प्रकाशन भएको थियो ।
त्यस्तै, अनन्तलिगेश्वर नगरपालिकामा १ हजार ४ सय ७३ जनाको सम्झौता भएको छ । नामावली छुटेको भन्दै ७ सय ६३ जनाले गुनासो फाराम भराएको स्थानीय विकास अधिकारी कोइरालाले बताए । अनन्तलिगेश्वर नगरपालिकामा ३ हजार ५४ को लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो ।
यता चाँगुनारायण नगरपालिकामा १ हजार १ सय ५३ को सम्झौता र १ सय ५० जनाले गुनासो फाराम भराएका छन् । चाँगुनारायण नगरपालिकामा ५ हजार २ सय ८४ को लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो । सूर्यविनायक नगरपालिकामा ७ सय ५५ जनाको सम्झौता भएको छ भने १ सय ९७ जनाले गुनासो फाराम भराएका छन् ।
यता मध्यपुर थिमी नगरपालिकामा भने केहि दिनमा अनुदान सम्झौता सुरु गरिने भएको छ । कार्यालयले सूचना जारी गरिसकेकाले सम्झौता गर्न अझै केहि दिन लाग्न सक्ने जनाएको छ । सो नगरपालिकामा २ हजार २ सय ५४ जनाको लाभादायी सूचीमा नामावली प्रकाशन भएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार भक्तपुरमा भूकम्प पुनःनिर्माण प्राधिकरणबाट २४ हजार ९ सय २ जना भूकम्पीडितको लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो ।