सीमांकन हेरफेरको बिरोधमा नवलपरासी बन्द
काठमाडौं, ५ मंसिर । सीमांकन हेरफेरको बिरोधमा कांग्रेसको भातृ संगठनले आव्हान गरेको एक दिने बन्दका कारण नवलपरासीको नवलपुर क्षेत्र ठप्प बनेको छ ।
बन्दका कारण दुम्किवासदेखी गैंडाकोटसम्मको पूर्व पश्चिम राजमार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन् । शैक्षिक संस्था र पसल व्यवसाय पनि पूर्ण रुपमा बन्द रहेका छन् । बन्दका कारण पूर्वबाट पश्चिम जाने लामो दुरीका सवारी साधनहरु नारायणगढमा रोकिएका छन् भने पश्चिमबाट पूर्व जाने सवारी साधनहरु दुम्किवास र अरुणखोलामा रोकिएका छन् । सवारी साधन रोकिदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।
बन्दका कारण राजमार्गका विभिन्न स्थानमा यात्रुहरु अलपत्र परेपछि स्कटिङ्गबाट सवारी साधनलाई गन्तव्यमा पु¥याइने व्यवस्था मिलाउन लागिएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।
बन्द आव्हान गरेका तरुण दल र नेबि संघका कार्यकर्ताहरु नवलपुर क्षेत्रका विभिन्न चोक र बजारमा बसेर सडक अवरुद्ध पारेका छन् ।
नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नं. ४ मै कायम गर्नुपर्ने माग राख्दै नवलपरासीको तरुण दल र नेविसंघले बन्दको आव्हान गरेको हो ।
नयाँ संविधानमा नवलपरासी जिल्लाको बर्दघाटदेखि पूर्वी भाग (नवलपुर क्षेत्र) प्रदेश नं. ४ र पश्चिम भाग (परासी क्षेत्र) ५ मा रहने छ भनि उल्लेख गरिएपनि पुनः त्यसलाई फेरबदल गर्न लागिएकाले बन्द आव्हान गरिएको ति संगठनहरुले जनाएका छन् ।
बन्द साँझ ५ बजेसम्म रहने बताइएको छ । नवलपरासी जिल्ला भौगोलिक रुपमा परासी क्षेत्र र नवलपुर क्षेत्रमा विभाजित रहेकोले अहिले विभाजन गरिएको ४ र ५ नम्बर जायज रहेको भन्दै त्यसलाई फेरबदल नगर्न ति संगठनले आग्रह गरेका छन् । बन्दका कारण नवलपुर क्षेत्र ठप्प रहेपनि परासी क्षेत्र भने सुचारु छ ।