साझाका ३० नयाँ बसले पाए रुट परमिट

भक्तपुर न्यूज

२ मंसिर २०७३ ६:५३

साझाका ३० नयाँ बसले पाए रुट परमिट

काठमाडौं, २ मंसिर । साझा यातायातले ल्याएका सुविधा सम्पन्न ३० वटा नयाँ बसले रुट परमिट पाएका छन् । बागमती यातायात कार्यालयले साझाका नयाँ बसलाई गुडाउने अनुमति प्रदान गरेको छ ।
काठमाडौं आएको १ महिनाभन्दा बढी समय बिते पनि बसले रुट परमिट नपाउँदा थन्किएका थिए । अब नयाँ बसका लागि रुट परमिट पाइसकेपछि राजधानीका विभिन्न रुटमा नयाँ बस गुड्ने साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
पाण्डेयअनुसार सबै रुटमा बस चलाउन आवश्यक तयारी पुरा भएको छ र अब छिटै साझा बसले नयाँ रुटमा सेवा थाल्नेछ । साझाले नयाँ बसमा लागि ड्राइभर र कन्डक्टरको पनि नियुक्ति गरिसकेको छ ।
साझा यातायातले कात्तिक २४ गते रुट परमिटको लागि यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयमा रुट परमिटको लागि निवेदन दिएको थियो ।
यसरी साझाका उपत्यकामा ४ रुटमा ३८ वटा बसहरु सञ्चालन हुने छन् । ४६ वटा बस रहेको साझाले हाल उपत्यका बाहिर ४ स्थानमा ८ वटा बस सञ्चालन गरिहेको छ । काठमाडौंदेखि वाग्लुङ, गौर, भैरहवा लुम्बिनी, र विरगंजमा लामो दुरीको यातायात सेवा प्रदान गरिरहेको छ ।
यस्तो छ नयाँ बस गुड्ने रुट
रुट १ः लगनखेल, जाउलाखेल,कुपन्डोल,थापाथली, त्रिुपुरेश्वर,न्यूरोड गेट,जमल,लैनचौर, पानीपोखरी, नारायण गोपाल चोक,समाखुसी हुँदै नयाँ बसपार्कसम्मको रुटमा नयाँ १० वटा बस गुड्ने छन् ।
रुट २ः त्रिभुवन विमानस्थल आन्तरिक र बाह्य टर्मिनल गेट, गौशाला, रातोपुल, कमलपोखरी, बागबजार हुँदै पुरानो बसपार्क, सहिदगेट, नेपाल वायुसेवा निगम (एनएसी), जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु चोक, बनस्थली, वाइपास हुँदै नयाँ बसपार्क चल्ने रुटमा १० वटा नयाँ बस गुड्ने छन् ।
रुट ३ः कोटेश्वर, तीनकुने, मिनभवन, नयाँ बानेश्वर, माइतिघर, सिंहदरबार, सहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टीमोड, कलंकी हुँदै स्वयम्भू पुग्ने रुटमा थप नयाँ १० वटा बस चल्ने छन्।
रुट ४ः ग्वार्कोको बिएन्डबी अस्पताल, सातदोवाटो, पाटन औद्योगिक क्षेत्र, लगनखेल, जाउलाखेल, कुपन्डोल हुँदै त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक हुँदै सल्लाघारी, गंगालाल अस्पताल, न्युरो अस्पताल, गोल्फुटार, हात्तीगौडा हुँदै नारायणथान रुटमा पुराना ८ वटा बस चल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *