वास्तविक पीडितकै नाम छुटेको अनन्तलिंगेश्वरवासीको गुनासो
भक्तपुर,मंसिर २ । भक्तपुर,मंसिर २ । एक तर्फ भुकम्पको पिडा अर्को तर्फ राज्यले दिन नसकेको सुबिधा । राज्यले उपलब्ध गराउने सहयोगमा पनि बास्तबिक पिडितहरु छुट्दाको पिडा पोख्दैछन् यती बेला भक्तपुरमा भुकम्प पिडितहरु । अनन्तलिंगेश्वरका भूकम्पपीडितले वास्ताविक पीडितको नामावली छुटाएको भन्दै आक्रोश पोखेका छन् ।अन्य नगरपालिकाजस्तै भूकम्प पुनर्निर्माण प्राधिकरणले पछिल्लो समय पठाएको लाभग्राही सूचीमा वास्ताविक भूकम्पपीडितको नामावली छुटेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । अनन्तलिंगेश्वर नगरपालिकामा आएको पछिल्ल्लो सूचीअनुसार ३ हजार ५४ जनाको लाभग्राही सूचीमा नामावली प्रकाशन भएको थियो । अनन्तलिंगवेश्वर–१५ की सरिता कुँवरले पछिल्लो सूचीमा धेरैको नामावली छुटेको गुनासो गरिन् । छुटेका भूकम्पपीडितको सूची समावेश गर्न उनले मागसमेत गरिन् ।
अनन्तलिंगेश्वरकै नन्दु नगरकोटीले पछिल्लोपटक आएको सूचीमा भूकम्पपीडितको नाम हटाएर विवरण पठाएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले नाम छुटेका पीडितको थप विवरण नआएसम्म १५ को संयुक्त वडामा राहत वितरण हुन नदिने चेतावनीसमेत दिइन् ।अनन्तलिंगेश्वर नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज भक्तपुर र ग्रामीण पूर्वाधार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्पपीडितले यस्तो गुनासो गरेका हुन् ।
अनन्तलिंगेश्वर नगरपालिका–१४ की मञ्जु थापाले सरकारले भूकम्पपीडितको कार्ड दिएर सोहीअनुरूप कार्ड नम्बरसमेत मिलेको अवस्थामा नाम मात्र फरक पारिदिँदा अनुदान सम्झौता गर्न समस्या परेको बताइन् । भूकम्पपीडित परिचयपत्रका आधारमा १० हजार र १५ हजार प्राप्त गरिसकेको र पछिल्लोपटक प्रदान गरिएको भूकम्प प्रभावित लाभग्राही सेतो परिचयपत्र प्राप्त गर्दा आफ्नो नाम फरक परेको उनको गुनासो छ । अनन्तलिंगवेश्वर–१३ का धर्मराज थापाले पीडितले उपभोग गरिरहेको जग्गा गुठी संस्थानको नाममा तल्सिङ रहेको र मोही अनुदान सम्झौता गरी घर बनाउने सिफारिस गुठी संस्थानले दिँदा पनि अनुदान सम्झौता नभएको गुनासो गरे । ‘नगरपालिका क्षेत्रका ५० भन्दा बढीको जग्गा गुठीको नाममा छ, गुठी कार्यालयले पनि राहत सम्झौताका लागि सम्बन्धित व्यक्तिको नाममा सिफारिस प्रदान गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा राहत सम्झौता हुन्छ कि हुँदैन ?’
अनन्तलिंगेश्वर–१३ की कविता बस्नेतले ससुराको नाममा भूकम्पपीडित परिचयपत्र बनेको र हाल सासुससुरा दुवैको देहावसान भइसकेको अवस्थामा छोराको नाममा अनुदान सम्झौता नभएको गुनासो गरिन् । ‘हामीसँग ससुराको नामको सक्कली लालपुर्जा छ, भूकम्पपीडितको परिचयपत्र पनि छ,’ उनले भनिन्, ‘पछिल्लो विवरणमा ससुराको नाममा सूची प्रकाशित भए पनि ससुरा नहुँदा छोराले सम्झौता गर्न मिल्दैन भने, यस्तो पनि हुन्छ र ?’ स्थानीय मदन श्रेष्ठ, लच्छुराम न्यौपाने, कमला खत्री, ईश्वर तामाङ, सुजाता खत्री, रामेश्वर ढुंगेललगायतले नगरपालिकाले सडक बत्ती राखे पनि सदुपयोग नभएको, सडकको मापदण्ड मिचिएको, सडक मर्मतमा नगरपालिकाले चासो नदिएको र यातायात समस्या बढेको गुनासो गरे ।
भूकम्पीय आवास पुनर्निर्माण परियोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ उपसंयोजक दीपक पाठकले वास्तविक भूकम्पपीडितका जग्गाका समस्या तथा विवरण छुटेको सम्बन्धमा भूकम्प प्रभावित ११ जिल्लाको गुनासो प्राप्त भइसकेको हुँदा भक्तपुर, काठमाडौं र ललितपुरको गुनासो प्राप्त हुनासाथ पुनर्निर्माण प्राधिकरणमा पठाउने अवगत गराए । अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होत्तराज लम्साल र योजना तथा प्रशासन शाखाका लेखनाथ सुवेदीले जनताबाट उठेका साझा समस्या समाधान गर्नेप्रतिबद्धता जनाए । सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंले वास्तविक भूकम्पपीडितको समस्या समाधानका लागि सम्बन्धित निकायले प्रयास र चासो बढाउनुपर्नेमा जोड दिए ।