ट्रम्पका कारण न्यूयोर्क त्रसित
एजेन्सी, २ मंसिर । न्युयोर्कका मेयर बिल डे ब्लाजीयोले गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने नवनिर्वाचित अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको योजनाका कारण सहरका मानिसहरु त्रसित भएको बताएका छन् ।
चुनावी अभियानका क्रममा ट्रम्पले गैरकानुनी रुपमा बसिरहेका एक करोड भन्दा बढी आप्रवासीहरुलाई देश निकाला गर्नुपर्ने बताएपछि न्युयोर्कका मेयरको यस्तो प्रतिक्रिया आएको हो ।
राष्ट्रपति निर्वाचित ट्रम्पसँग भेटेपछि डे ब्लाजियोले आप्रवासीहरुलाई देश निकाला गर्नाले परिवारहरुमा विछोड निम्तिने बताएका छन् । उनले कागजपत्र नभएका आप्रवासीहरु उनीहरुका परिवारबाट नछुटिउन भन्नका लागि आफूले सकेसम्म सबै प्रयास गर्ने पनि उल्लेख गरेका छन् ।
ट्रम्प टावरमा भएको भेटमा डे ब्लाजियोले न्युयोर्क आप्रवासीहरुले असाध्यै रुचाएको शहर भएको पनि उल्लेख गरेका छन् । अमेरिकामा रहेका विदेशमा जन्मिएका आप्रवासीको औसत संख्या भन्दा तीन गुणा बढी त्यस्ता नागरिकहरु न्युयोर्कमा रहेका उनको भनाइ छ ।
यसअघि नै डे बाल्जीयोले आप्रवासीको सुरक्षाका लागि कागजात नभएका नागरिकको विवरण शहरको तथ्यांक भण्डारबाट मेटि दिने चेतावनी दिएका थिए ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनले ट्रम्पले आपराधिक पृष्ठभूमिका करिव ३० लाख आप्रवासीलाई देशबाट बाहिर पठाउने वा थुन्ने आफ्नो लक्ष्य भएको बताएका थिए ।
कयौँ ठूला अमेरिकी शहरका अधिकारीहरुले पनि उक्त प्रस्तावहरुको विरोध गरिरहेका छन् ।