खनाललाई उत्कृष्ट अपराध अनुसन्धान पुरस्कार
काठमाडौं, १ मंसिर । महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित गरिएको छ ।
११ औं महानगरीय प्रहरी दिवसको अवसरमा उनलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक समारोहका बीच सम्मान गरेका हुन् ।
डेढ वर्षदेखि अपराध महाशाखाको प्रमुखमा रहेका खनालले म्याच फिक्सिङ, पेट्रोल पम्पहरुमा हुने गरेको ठगी, बडिखेल हत्याका अभियुक्तलाई पक्राउ गरेका थिए । त्यसैगरी गुन्डानाइके कुमार घैंटेको इन्काउन्टर गरेका खनालले कसन्ल्ट्यान्सीहरुमा समेत छापा मारेका थिए । पछिल्लो समय उनले वैदेशिक रोजगारीमा जानेहरुको समस्या सुन्न नयाँ पिल्लर नै गठन गरेका छन् ।
त्यस्तै काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापा उत्कृष्ट कार्यबाट सम्मानित भएका छन् ।
एसएसपी सरद चन्द प्रहरी कार्यबाट सम्मानित भएका छन् भने डिएसपी सन्तोषसिंह राठौंर, मनोहरि थापा, हवल्दार चेतबहादुर चौलागाई र प्रहरी जवान सन्तोष सापकोटा पनि सम्मानित भएका छन् ।