क्षयरोग निवारण संस्था भक्तपुरको अध्यक्षमा सिख्व
भक्तपुर , ३० कात्तिक । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको दशौं अधिवेशनले राम सिख्वको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति बनाएको छ । विगत ३७ वर्ष देखि क्षयरोग उन्मुलनमा प्रयासरत संस्थाले सिख्वको नयाँ नेतृत्व निर्धारण गरेको हो ।
नयाँ निर्वा्चित पदाधिकारीमा कृष्णदेव श्रेष्ठ, सुमन श्रेष्ठ, गायत्री श्रेष्ठ, विष्णुप्रसाद न्हिसुतु, लक्ष्मण सुजखु, राजेश्वरी शिल्पकार, रत्नलाल साँद, विजय कर्माचार्य, बालकृष्ण श्रेष्ठ, सर्मिला शिल्पकार छन् । अधिवेशनमा निर्वा्चित पदाधिकारीहरुको पहिलो बैठकले उप–सभापति, सचिव, कोषाध्यक्ष, सह–सचिवको टुङ्गो लगाएर १९ सदस्यीय बनाउने भएको छ । त्यसमध्ये सभापतिबाट ४ सदस्य मनोनित गर्ने तथा कार्यसमितिबाट एक जना चिकित्सक, संस्थागततर्फ जन–स्वास्थ्य कार्यालयबाट एक तथा जिल्ला विकास समितिबाट एक जना गरी ७ सदस्यहरुलाई मनोनित गरिने भएको हो ।
अभिवेशनको उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा तथा स्वास्थ्यलाई एकै साथ विकास गर्दै लानुपर्नेमा जोड दिए । भक्तपुरलाई क्षयरोगमुक्त जिल्ला घोषणा गर्ने अभियानमा लागि परेको संस्थालाई सहयोग गर्ने मन्त्री पौडेलले प्रतिबद्धता समेत जनाए ।