महावीर पुनको आबिष्कार केन्द्रलाई सहयोग
काठमाडौं, ३० कार्तिक । राष्ट्रिय आबिष्कार केन्द्रका अभियन्ता एवं म्याग्सेसे पुरस्कार विजेता महावीर पुनलाई अभियान अघि बढाउन दक्षिण कोरियामा काम गर्ने नेपाली युवाले १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
डेउ नेपाल एकता समाज गजेदो दक्षिण कोरियाका उपाध्यक्ष केशव खड्का र सदस्यहरु विजेन्द्र खाँड, लक्ष्मण बञ्जाडे एवं आनन्द पोखरेलले ठमेलस्थित पुनको नेपाल कनेक्सनमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।
समाजले कोरियामा नेपाली फिल्म छक्का पञ्जाको च्यारिटी शो आयोजना गरेर बचत भएको रकम र अन्य नेपालीको सहयोग बटुलेर पुनलाई हस्तान्तरण गरिएको खड्काले जानकारी दिए । समाजले १२ वैशाख ०७२ को भुकम्प पिडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ पनि सहयोग गरेको थियो ।
अभियन्ता पुनका अनुसार आबिष्कार केन्द्रका लागि हालसम्म नगद करिब डेढ करोड उठिसकेको छ । केन्द्रलाई उनैले हस्तान्तरण गरेको जग्गाको मुल्य करिब ३ करोड रुपैयाँ पर्छ । त्यस हिसाबले केन्द्रसँग साँढे चार करोड बराबरको सम्पत्ति भएको छ । केन्द्र चलाउन ५० करोड रुपैयाँ लाग्ने पुनले बताए ।