संविधान संशोधनलाई स्थानीय निकायको चुनावसँग जोड्न नहुने ः नेपाल
सिरहा, २८ कात्तिक । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले संविधान संशोधनलाई स्थानीय निकायको चुनावसँग जोड्न नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले चुनाव नभए देशमा संवैधानिक संकट आउने र लोकतन्त्र धरापमा पर्ने बताए । उनले भने, स्थानीय निकायको चुनाव कुनै पनि हालतमा छिटो सम्पन्न गर्नुपर्छ । चुनाव भयो भने अहिले देखिएका धेरै समस्याको समाधान हुन्छ ।
जनतालाई अहिले आन्दोलन होइन्, शान्ति र समृद्धि चाहिएको बताउदै नेता नेपालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेट हुंदा भारतीय कम्यूनिष्टहरुले भारतको संविधान पहिले अस्विकार गरेको र अहिले सबैलाई स्वीकार्य भएको जस्तै नेपालको संविधान पनि पछि सबैले स्वीकार्दै जाने बताए ।
उनले अंगिकृत नागरिकहरुलाई राष्ट्रको प्रमुख पदहरुमा लैजाने व्यवस्था गर्न नसकिने बताए । उनले भने, यो चलन संसारको कुनै पनि मुलुकमा नभएको नेपालमा पनि हुनु हुदैन् ।
मधेसवादी दलका नेताहरुलाई आफूले छलफल र सम्वादका लागि आग्रह गरेको तर आफ्नो प्रयास एक हातले ताली बज्दैन भन्ने उखान सावित भएको दुःखेसो पोखे ।
नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गरे सहन नसक्ने बताउदै स्वाभिमानलाई बचाएर राख्नुपर्ने धारणा राखे ।