माओवादी केन्द्रको राष्ट्रिय भेला पुनः स्थगित
काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रको राष्ट्रिय भेला पुनः स्थगित भएको छ । मंसिर दुई गते हुने भनिएको भेला अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार संविधान संशोधन, कार्यान्वयन र महाअभियोग प्रस्तावको राष्ट्रिय एजेण्डामा केन्द्रित हुनुपर्ने भएकाले राष्ट्रिय भेला स्थगित गरेको हो । माओवादीले अब भेला कहिले गर्ने भनेर मिति भने अर्कोपटक बस्ने केन्द्रीय कार्यालयको बैठकले लगाउन जनाएको छ ।
माओवादीले राष्ट्रिय भेलाको मिति पटक पटक तोक्दै र स्थगित गर्दै आएको छ ।
यसअघि भदौमा हुने भनिएको राष्ट्रिय भेला पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएलगत्तै सरकारका काम कारवाहीमा ध्यान दिनुपर्ने भन्दै स्थगित गरिएको थियो । माओवादी केन्द्रको गत असोज २८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले कात्तिक १० र ११ गते राष्ट्रिय भेलाको मिति पुनः तोकेको थियो । तर तयारी नपुगेको भन्दै त्यसलाई पनि सारेर मंसिर २ गतेलाई तोकिएको थियो ।