विश्वकप छनौट फुटबलमा ब्राजिल र उरुग्वे विजयी
एजेन्सी, २६ कार्तिक । विश्वकप छनौट फुटबलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपको छ । ब्राजिलले २५ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै नयेमारले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ५८ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि घरेलु टोली ब्राजिलले जित हासिल गरेको थियो ।
लिओनल मेस्सी, सर्जिओ एग्युरो र गोन्जालो हिगुइनसहितको फ्रन्ट लाइन भएको अर्जेन्टिना घरेलु टोलीसामू निरिह जस्तै देखिएको थियो ।
आज विहान भएको अर्काे खेलमा उरुग्वे विजयी भएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा उरुग्वेले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । उरुग्वेको जितमा पहिलो हाफमा सेबास्टिएन कोएटिस र डिएगो रोलानले गोल गरे । यस्तै इक्वेडरका लागि काइसेडोले एक गोल फर्काए ।
खेलको १२ औं मिनेटमा कोएटिसले गोल गर्दै उरुग्वेलाई सुरुवाति अग्रता दिलाए । ४४ औं मिनेटमा काइसेडोले इक्वेडरका लागि बराबरी गोल फर्काए ।
त्यसको एक मिनेटपछि अर्थात ४५ मिनेटमा रोलानले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
यो जितसँगै ब्राजिल ११ खेलबाट २४ अंकका साथ विश्वकप छनौटको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट २३ अंक रहेको उरुग्वे दोस्रो स्थानमा र अर्जेन्टिना भने १६ अंकसहित छैटौं स्थानमा छ ।