संसद बैठक अवरोध गर्ने मोर्चाको तयारी
काठमाडौं, २६ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघिय गठबन्धनले आज संसदको बैठक अवरोध गर्ने तयारी गरेका छन् । सरकार गठन भएको लामो समय बितिसक्दा पनि माग सम्वोधनका लागि सत्तारुढ दल गम्भिर नभएको भन्दै मोर्चाले सदन अवरोध गर्ने लागेको हो ।
आजको बैठकमा आफ्नो भनाई राख्ने र होहल्ला गरेर सदन चल्न नदिने तयारी भएको मोर्चा स्रोतले जनाएको छ । सडकबाट दबाब दिँदै आएका मोर्चाले सरकारले सडकको आवाज नसुनेपछि संसद्लाई पनि प्रयोग गरेर दबाब दिने रणनीति बनाएको छ ।
यद्यपी संसद बैठक अवरुद्ध गर्दा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको बचाउ गर्न त्यसो गरिएको भन्ने आरोप लाग्ने भन्दै मोर्चाकै कतिपय नेताहरु भने संसदमा अवरोध गर्न नहुने पक्षमा छन् ।
संसद अवरोध गर्ने बिषयलाई संचार माध्यामले लोकमानविरुद्धको कारवाही प्रभावित पार्ने कदमका रुपमा व्याख्या गर्ने भन्दै मोर्चा नेताहरुबीच सो बिषय सार्वजनिक नगर्ने सहमति भएको मोर्चा आवद्ध दलका एक नेताले जानकारी दिए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संसदमा आजको परिस्थिति हेरेर गठबन्धनले थप रणनीति तय गर्ने बताउनुभयो । बैठकमा अवरोध भन्दा पनि गठबन्धनले आफ्ना कुरा राख्ने यादवले बताउनुभयो ।